एनआरएनए कोरियाले चार हजार किट्स नेपाल पठाउने 

बिएल संवाददाता

काठमाडाै‌ं

एनआरएनए कोरियाले कोरोना परीक्षण गर्ने दुई हजार किट्समा अरु दुई हजार थपेर चार हजार किट्ससहित अन्य स्वास्थ्य सामग्री पठाउने निर्णय गरेको छ। एक हप्ताअघि नै नेपाल पुगिसक्नु पर्ने उक्त किट्स कोरोना भाइरस संक्रमणकै कारण विमान उडान प्रभावित हुँदा पठाउन समस्या भएको हो। यससँगै उक्त किट्स नेपाल कहिले पुग्छ भन्ने अन्योल अझै कायम छ।

एनआरएनए कोरियाले आज एक जानकारीपत्र जारी गर्दै नेपाल पठाइने भनिएको चार हजार किट्स २४ घण्टाभित्र नै सुरक्षित रुपमा भण्डारण गरिनुपर्ने अनिवार्य बाध्यता र विमान उडान तालिकाको अनिश्चितताका कारण खरीद गरिएको किट्स नेपाल पठाउन नसक्दा सुरक्षित रुपमा उत्पादक कम्पनीमा नै भण्डारण गरिएको जनाएको छ। कोरियन एअरको सउल–काठमाडौँ चार्टर्ड उडान तालिकाको निश्चिततासँगै यथासक्दो छिटो नेपाल सरकारसमक्ष सामग्री हस्तान्तरण गरिने जनाइएको छ।

जानकारीपत्रअनुसार ती किट्सबाहेक अन्य स्वास्थ्य सामग्रीअन्तर्गत दुई हजार थान पिपिई , १० हजार एन ९५ मास्क, २० हजार सर्जिकल मास्क, दुई हजार ग्लास, दुई हजार प्रोटेक्टिङ भाइजर, १० हजार पञ्जा र पाँच सय थर्माेमिटर चाहिँ आजै चीनको ग्वान्जाउस्थित नेपाली महावाणिज्य दूतावासलाई जिम्मा लगाइने भएको छ।  

उक्त स्वास्थ्य सामग्री नेपाल एअरलायन्सको विमान आगामी चार्टर्ड गरिएका बखत नेपाल पुर्‍याइने छ। दक्षिण कोरिया सरकारले कोरियाबाट निर्यात गर्न बन्द गरेपछि उक्त स्वास्थ्य सामग्री चीनमै खरीद गरिएको हो।

प्रकाशित मिति: : 2020-04-04 12:54:21

प्रतिकृया दिनुहोस्