एनआरएन अमेरिकाले आफ्नो हैसियत देखाएको छ। उसले अमेरिकामा रहेका कोरोना प्रभावित नेपालीका लागि गोफण्डमीको टोकरी थापेर एक मृतकका लागि ३०० डलर दिएको जानकारी सार्वजनिक गरेको छ। कोषाध्यक्ष नेत्र बन्धु पोख्रेलले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ- 'न्यूयोर्कमा हाम्रो समुदायका सदस्य अनिल लिम्बुको निधन भएको र वहाँको परिवारलाई सहयोग गर्नको लागि न्युयोर्क च्याप्टरलाई $300.00 र क्षितिज रामा मगरलाई सहयोग गर्नका लागि $100.00 उपलब्ध गराई सकेका छौँ ।'
प्रेस विज्ञप्तीमा मार्च २५ देखि गोफण्डमी अकाउण्ट सञ्चालनमा ल्याइएकोमा अप्रिल १ पूर्वीय समय अपरान्ह ११:५९ सम्म विभिन्न महानुभावहरूले गर्नुभएको दानबाट पाँच दिनको अवधिमा ९२५७ अमेरिकी डलर जम्मा भएको उल्लेख गरिएको छ। तर, त्यसबाट अमेरिकामा दुखद् निधन भएका एक मात्र नेपाली अनिल लिम्बूको परिवारलाई तीन सय दिइएको उल्लेख छ। नौहजारभन्दा बढी उठाएर मृतकको परिवारलाई चाँहि तीनसय दिने अनि बाँकि चाँहि एनआरएनको खातामै राखिराख्ने सोच आफैंमा अमानवीय सोच हो। यस्तो सोच भएको एनआरएन अमेरिकाबाट के अपेक्षा गर्ने ? एनआरएन अमेरिकाका एक सदस्य यस्तो प्रश्न गर्दै अगाडि भन्छन्, 'कोरोनाबाट मरेको परिवारलाई तीनसय सहयोग!, सुन्दा पनि कति नमिठो लाग्छ। के तीन सयको ज्यान हो ? कि एनआरएन अमेरिकाको हैसियत तीनसय मात्र हो ?'
'न्यूयोर्कमा हाम्रो समुदायका सदस्य अनिल लिम्बुको निधन भएको र वहाँको परिवारलाई सहयोग गर्नको लागि न्युयोर्क च्याप्टरलाई $300.00 र क्षितिज रामा मगरलाई सहयोग गर्नका लागि $100.00 उपलब्ध गराई सकेका छौँ ।'
- नेत्र बन्धु पोख्रेल, कोषाध्यक्ष , एनआरएनए अमेरिका
मार्च २४ मा २० हजार अमेरिकी डलरको लक्ष्य लिएर खोलिएको एनआरएन अमेरिकाको गोफण्डमी खातामा ८८ मनकारीले १०,३३७ अमेरकी डलर दिएका छन्। एनआरएन अमेरिकाको केन्द्रदेखि च्याप्टरसम्म र सल्लाहकारदेखि विभिन्न समिति, टास्क फोर्स र उपसमितिमा गरेर करिव एकहजार पदीय दायित्व लिएका मानिस नै होलान्। तर, गोफण्डमीमा १४ दिनमा ८८ जनाले मात्र सहयोग गर्नु एनआरएन अमेरिकाप्रति जवाफदेहिता नहुनु या यसप्रति वितृष्णा पैदा हुनु हो ।
एनआरएन अमेरिकालाई सहयोग गर्नेको संख्या दिन प्रतिदिन घटिरहेको छ। सहयोग गर्नेले पनि सहयोग राशी घटाउँदै लगेका छन्। यसको अर्थ प्रष्ट छ, एनआरएन अमेरिकाले विश्वास गुमाउँदैछ।