तीन सातालामाे लकडाउनले ब्राजिलवासी सङ्कटमा 

प्रीया राना

साउपाउलो (ब्राजिल)

कोरोना भाइरस संक्रमणबाट जोगिन ब्राजिल सरकारले मार्च १५ देखि अप्रिल ४ सम्म जारी गरेको लकडाउनले यहाँँको जनजीवन कष्टकर बनेको छ । 

दिन प्रतिदिन बढ्दै गएको संक्रमण र मृतकको संख्या देखेर आम मानिस घरबाट बाहिर निस्कन सकेका छैनन् । डर र त्रासले सिंगै देशलाई निलेको छ । 

बजारमा मास्क, पञ्जा, स्यानेटाइजरको अभाव छ । खाद्यान्न र लत्ताकपडाको पनि अभाव बेहोर्नु परेको छ । पाइएका समानहरु पनि महँगो मूल्यमा बेच्ने काम भइरहेको छ ।

लकडाउन गरे पनि अर्थतन्त्रलाई असर नहोस् र अत्यावश्यक चिजको अभाव नहोस् भनेर सरकारले व्यवसाय गर्नेहरुलाई आफ्नो काम सुरक्षित रुपमा सञ्चालन गर्न आदेश दिएको छ । 

बिश्वको पाचौं ठूलो भूगोल र जनसंख्या भएको ब्राजिल पर्यटकीय देश हो । यहाँ दैनिक हजारौं पर्यटक आउँथे तर कोरोना भाइरस फैलन नदिन पर्यटकलाई निषेध गरिएको छ । 

२१ करोड जनसंख्या भएको देश मुख्य आयस्रोत पर्यटन उद्योगपछि व्यापार र कृषि हो । 

ब्राजिलमा मार्च महिनाको सुरुदेखि कोरोना भाइरस संक्रमण देखोएको हो । बितेका ३५ दिनमा मृत्यु हुनेको संख्या ३२७ र संक्रमितको संख्या आठ हजार नाघिसकेको छ । १२७ जना निको भएका छन् ।  

ब्राजिलको सरकार कमजोर छ । त्यसैले सरकारी व्यवस्थापन एकदमै कमजोर छ ।  यदि कोरोना संक्रमित बिरामीको संख्या बढ्यो भने उपचारका लागि अस्पतालको व्यस्था समेत हुन सक्ने अवस्था छैन ।  

सरकारले व्यवस्थापन गर्न नसकेका कारण ब्राजिलियन जनता आक्रोशित छन् । लकडाउन घोषणा गरे पनि आमनागरिक मास्क, पञ्जाबिना नै मनपरी सडकमा हिँड्दै छन् । 

साना पसल खुलेका छन् । पसलहरुमा मान्छेको आवतजावत पनि जारी छ । कतिपय मान्छे  कोरोना भाइरस सङ्क्रमणको संत्राशले बन्द कोठा भित्र थुनिएर बसेका छन् । 

ब्राजिलमा नेपालीको संख्या भने एकदमै न्यून छ । ब्राजिलभरिमा करिब एक सय नेपाली रहेको अनुमान छ । सबैभन्दा बढी नेपाली ब्राजिलकै सबैभन्दा ठूलो शहर साउपाउलो शहरमा ५०–६० जना छन् । 

यहाँ रहेका धेरैजसो नेपाली व्यापार–व्यावसाय गर्ने गर्छन् । लकडाउनले अधिकांश नेपालीको व्यापार–व्यवसाय बन्द छ । उनीहरू भने घरभित्रै बसेका छन्। 
 

प्रकाशित मिति: : 2020-04-03 16:02:07

प्रतिकृया दिनुहोस्