कहिलेकाहीँ एक मनले भन्छ, जाबो लेख्ने कामले के नै हुन्छ र? लेख्ने कामको चकचक अब छोडि दिउ क्यारे। अर्को मनले भन्छ, हैन यो बेलामा नि चुप बस्नु र ! मनले मान्दैन अनि लेखु भनेर ल्याप्टप खोल्छु तर दिमाग जाम छ। केही आउँदैन। किबोर्डमा बसेको हात मरेकाटे सर्दैन। मैतिर हेरिरहेको स्क्रिन गिज्याउँछ। खुच्चिङ गरिदिन्छ। किबोर्ड चुम्बक हो। हात फलाम। यी दुइले चुम्बन गरेपछि कसरी सर्नु। सीप चल्दैन।
दराजमा एउटा डराएको जुग बारे लेखिएको किताब छ। किताबले भनेको जुग बितिसकेको हुनाले खासै डर छैन। वरीपरि भएका अरु किताबले थिचेको किताब आफै डराएजस्तो मान्छु। बिचारो टिठ लाग्दो देख्छु। यस्तोदेखि डर मान्नु पो के छ र ? निकालेर हेर्छु ‘लेख्नै कठिन’ भन्ने शिर्षकको लेख। अनि कहाँ छोड्नु र लेख्न जस्तो लाग्छ।
हतोत्साहित भएको बेला पनि उत्साह दिन्छ। लेख्न कठिनै भएपनि मान्ठाहरु किताब लेख्न सक्दा रहेछन्। ‘मो जैर्या उसै चाँणिदो’ पढ्दै उर्जा मिल्ने यस्तो किताब लेखिदिने मान्ठा हुन मोहन मैनाली। २०७१ फागुनमा निस्किएको उक्त किताब २०७२ साउनमा सुर्खेतमा किनेको थिए । दुई दिनको यात्रा पश्चात जुम्ला पुग्ने कच्चि बाटो थियो। घर फर्किदा गाडीमा बस्ने बित्तिकै पढ्न थालेको किताब जुम्लाको कुडारीमा आएपछि सकाए। म किताबको समीक्षा लेख्न लागेको होइन। हे हे,लेख्न आए पो लेख्नु त!‘लकडाउन’ डायरी लेखौं भन्दा केही नआएपछि यतिका गफ हाकेको नी।
सायद, म तपाईंहरुलाई अलमल्याईरहेको छु। प्रिय पाठकहरु यहाँलाई रिस पनि उठिसक्यो होला। ‘मुला गफ बढी दिन्छ’ भनेर कसैले भनि पो सक्नुभयो कि! स्वभाविकै हो, गफैदिइरहेको छु त। क्षमा माग्दै अगाडि बढ्ने अनुमति चाहन्छु।
मान्ठा डराएको त्यो जुग सकियो। अहिले त लाग्छ दुनियाँ डराउने जुग आएको छ। त्यति बेलाका मान्ठा लडाइँ झगडा गर्थे। बिरोधीलाई वीरता देखाएर मार्थे। सत्तापक्ष र प्रतिपक्ष दुबैले देखाउने मिल्ने वीरता मात्रै होइन, देख्नै नसक्ने क्रुरता पनि देखाए। केही अनाहकमा मर्थे। जस्तो– धादिङ जोगिमाराका मजदुर कालिकोटको कोटबाडामा मारिए। यस्तो देखेका मान्ठले भनिदिए, ‘मान्ठादेखि मान्ठ डराउने जुग आयो।’ यस्तो हृदय फाट्ने वाक्यलाई टपक्क टिपेर मोहन मैनालीले किताबको न्वारान गरे, ‘मान्ठा डराएको जुग’।
किताब यस्तो बन्यो कि, तिहारमा बहिनीले भाईको लागि उनेको माला जस्तो। माला चुँडिएपछि कस्तो हुन्छ? सम्झिनुस् त एक पटक, उस्तै हुन्छ पटकपटक, मन पनि। पढ्दै जाँदा बन्ने चित्रले तपाईलाई माला उनिए जस्तो र चुँडिएजस्तो गराइरहन्छन्।
अहिले पनि मान्ठा डराएकै जुग हो। त्यतिबेला नेपालका मान्ठा डराएका थिए। अहिले दुनियाभरका मान्ठा डराएका छन्। मान्ठादेखि मान्ठा होइन। एक ‘चोइट्या’ भाइरस देखि।
‘चोइट्या’ भनेर के गर्नु दुनियालाई घरभित्र थुनेर आफू एक्लै विश्व भ्रमणमा निस्किएको छ ‘भिजिट वर्ल्ड–२०२० बाइ कोरोना भाइरस डिजिज, (कोभिड –१९)।’ त्यस्तो को होला, जो नडराएको होस्? तर अब हामी माझ छ त केवल एउटा मात्रै विकल्प। त्यो हो डर भगाउनु।
मेरा औंला र किबोर्डले चुम्बन गरेको यो लकडाउनको छैटौं दिन हो। औंला र किबोर्डका उत्तर, दक्षिणी ध्रुव मिलेर चुम्बन भएजस्तै दिमागको सोचाइसँगको कनेक्सन पनि विपरित ध्रुवको हुँदा यत्तिमै विश्राम लिएको थिए। रातीको १२ बजे पछि दिमागदेखि हातसम्म सबै जाम भए। मुग्लीनदेखि थानकोटसम्मको लामो गाडीको जामजस्तै।ल्याप्टप अफ गरेर सुतिदिन्छु। सपनामा आजभन्दा करिब पाँच वर्षअघि मरेका बा आउँछन् र भन्छन्, ‘हेर छोरा यो कोरोना त केही रैनछ। सरकारले भुन्याको मानेपछि क्याको भेइ(डर)। हेर मोकन केइ भयानाई, तो क्यान भेइ मान्दो? घरभित्तै बसेस्, भेइनमानेस्।’
‘अँ ट्यौ अँ बड्डाले सहि भुन्या, यार।’ यस्तो सोच्दा सोच्दै‘ मरेका यी बड्डा क्या गरी आया, आज?’ पनि सोचिरहेकै थिए। सबाल जवाफ गर्न नपाउँदै मोबाइल करायो। फोन आयो कि भनेर हेरेको त अलाम पो बजेको रहेछ– ‘छिटो उठ मुला’ भन्नलाई। देश दुनिया लकडाउनमा छ। म यो अलामले भनेको किन मान्नु? सुतिदिन्छु, फेरी। कति चार घण्टे हुनु। फेरी सपना देखे भने बासँग भेट होइजान्छ कि भनि सुत्न खोजेको निद्रा लागेन। यतातिर उखान छ, ‘लाग्या बानी, काहीँ नजानी’। सदाझैं अलामले डिष्टर्भ गरेपछि निद्रा गायब।
सपनामा देखिन पुगेका बाको आज खुब न्यास्रो लागेर आएको छ। एकाएका सम्झनाको ब्ल्याकइन ह्वाइट रिल घुम्छ–फ्ल्यास ब्याक जस्तै। जब बाले संसार छोड्दै थिए तब उनी रिक्साको यात्रामा थिए। २०७१ साउन २४ गते दिउँसो बाले नेपालगन्ज बजार एक राउन्ड लगाएर आएपछि उज्यालो अनुहारमा फिसिँक्क हाँस्दै भने, ‘देज्जास्! आज त पुरै नेपालगुन्ज बजार डुल्दिया (घुमिदिनु)।’ बाको नेपालगन्ज बजार भनेको धम्बोजीबाट घरबारी टोल, बागेश्वरी, एकलाईनी हुँदै पोते गल्लीमा हाट जाँदाका इष्टहरुलाई भेटेपछि डेरा फर्किनु हो।
तर बाले आफ्नो नेपालगन्ज नघुमेको पनि धेरै भैसकेको थियो। २०७० फागुन ६ गते अचानक बाको शरीर चल्न छोड्यो। केही समय बोली बन्द भयो। त्यसपछि हामीले लामो समय उपचार गर्यौं। बा पुरानै अवस्थामा फर्किए। भर्खर प्यारालाइसिसबाट तंग्रिएका बाको तागत देखेर त्यो दिन म कम्ता खुसी भइन्। त्यति नै खुसी जतिबेला म सानो थिए। बाले दिनभरी काम गरेर घर आउँदा एक रुपियाँका तीन आउने सुन्तला टपी(चक्लेट) ल्याइदिन्थे। लाग्यो अब बालाई निको भैसकेछ।
खुसीखुसीमा मैले खाना पकाए। बाबु छोराले खायौं। दिनभर चर्को गर्मी भए पनि राती पानी पर्न थाल्यो। गर्मीबाट पार पाइयो। विस्तारै शितल भयो। १० नबज्दै म निदाए। राति ११ बजे बालाई दम बढ्यो। दमको निरन्तर च्यापाइले बाको पीडा मिश्रित आवाज बढ्यो।कति बेला उज्यालो होला र अस्पताल पुर्याउने सोचिरहेको थिए।
रातिभरी सुत्न नपाएको म, बिहान चार बजेतिर निदाएछुँ। पाँच बजे बिँउझिँदा बाको हालत खराब भइसकेको थियो। हतार हतार बालाई अस्पताल लिन रिक्सा खोजे। अस्पताल लिँदालिँदै बाटोमा बाको शरीर चिसिन थाल्यो। नेपालगन्जको चर्को गर्मीमा शरीर चिसियो भने के हुन्छ कुरा बुझ्नुस्। सास छउन्जेल आश हुन्छ। नसा मन्द चलिरहेका थिए। मुखबाट घ्यारघ्यार आवाज आइरहेको थियो। लाग्थ्यो बाको आवाज आउने नलिमा केही अल्झिएको छ, अस्पताल पुग्ने बित्तिकै निक्लन्छ।अनि सब ठिक हुन्छ।
हतारमा भेरी अस्पतालको इमरजेन्सी वार्डको बेडमा राखे। नर्स खोजे र अक्सिजन माक्स मागे। सिलिन्डर छिटो अन गर भने। अत्तालिदै डाक्टर बोलाएर ल्याए। डाक्टरले नाडी छामेपछि धमिलो अनुहारमा मधुरो स्वर लगाएर अमिलो वाक्य बोले, ‘हि इज नो मोर’। बाको स्वास उडेसँगै मेरो आश पनि उड्यो।बिहानीको उज्यालो खुल्दै गएको नेपागन्ज अध्याँरो लाग्न थाल्यो। घरदेखि टाढाको ठाउँ त पुरै कालो भयो। आँखाबाट झरेको नुनिलो पानीले शरीर सिंचित थियो। जसरी समुद्रको नुनिलो पानीले बोटबिरुवा गल्छन्, त्यसरी नै नुनिलो आँसुले म गलेँ। निराश भएँ।
त्यति नै निराश, जतिबेला बाले, ‘आज रुपियाँ भयानुन् छोरा’ भन्दै सुन्तला टपी ल्याएदिएका हुन्नथे। त्यसपछि के भयौ, आफै थाहा पाइहाल्नु हुन्छ। मैले भनिरहनु परेन। सोच्छु संसार,बा मरेको बेला जसरी नै अँध्यारो पनि हुने पो हो कि? तर हेरेक अँधेरी रातपछि बिहानी आउँछ, आशा लिएर। अनि हरेक बिहानले दिनको संकेत गर्छ।
सात दिनको लकडाउन सकिसकेको छ। सातै दिनको बिहानी पनि आशासँग हारेर अँध्यारै हुने अनुमान गरेपछि सरकारले छैठौं दिनमा लकडाउन अरु एक हप्ता बढायो। सातौ दिनमा ल्याप्टप अन गर्दा, किबोर्डलाई औंलाहरुले ब्रेकअप दिए। यति लेख्न सकियो। अब आठौं, नौबौ दिन गन्दै १४ दिन बित्नेछन्। त्यतिबेला पनि आशाको बीउ पलाएर दृइपाते भएन भने सरकारले लकडाउन अवधि बढाउने छ। जुन दिन लकडाउन खुल्छ। त्यो दिन संसार अँध्यारो होइन, उज्याले हुनेछ। विज्ञानले कोरोना भाइरसलाई हराइसकेको हुनेछ।