मर्ने कसैलाई रहर हुँदैन
तर नमरेको प्रहर हुँदैन,
भागेर जाउँ कुन ठाउँ जाउँ
मान्छे नमर्ने सहर हुँदैन …
दिमाखको पृष्ठभूमिमा छ, यो कालजयी गजल। तर, म यसलाई चाहेर पनि बजाउन सकिरहेको छैन। किनकि, मसँग अहिले यो सत्य सामना गर्ने साहस छैन।
म यतिबेला अमेरिकाको एउटा प्रेसिडेन्ट सिटी कान्सास सिटीमा छु। साथमा छन्, मेरो सानो परिवारका दुई सदस्य श्रीमती कुसुम र छोरो आदित्य। केही दिनअघिसम्म हामी अरू देश अनि अमेरिकाका अरू राज्य र सहरमा कोरोनाका समाचार सुनिरहेका थियौं, पढिरहेका थियौ। तर, केही दिनयता त्यो कोरोना म बसेको सहरमै पसेको छ। एकजनाको मृत्यु भैसक्यो, ५३ जना संक्रमितको पहिचान भयो। सिटीका अधिकारी भन्छन्, 'हजारौंको संख्यामा परीक्षण भएको छ- परिणामको पर्खाइमा छौं।'
मेरो कार्यालय घरबाटै चल्छ, छोरोको स्कूल बन्द भएको थुप्रै भैसक्यो। साताको दुई दिन उसको म्याकबुकमै भर्चुअल कक्षा सुरू भएको छ। गृहकार्यका प्याकेट मेलबक्समा आइरहेकै छन्। श्रीमतीको कार्यालय भने खुलेकै छ। उनी अस्पतालको सर्जरी वार्डमा काम गर्छिन्, एस्ट्रोनटजस्तो भएर साताको पाँच दिन ४० घण्टा खटिरहेकै छिन्। डरमर्दो छ तर पनि स्वास्थ्य क्षेत्रको काम राष्ट्रिय संकटका बेला छोड्नु नैतिक रूपले राम्रो मानिदैन।उनी मानवीय दृष्टिकोणले पनि अस्पताल गएर सर्जिकल वार्डमा काम गरिरहेकै छिन्। अरू विरामी होस् वा कोरोनाको, विरामी आएपछि उनले सर्जरीको तयारी गर्नैपर्छ।
एक मनले भन्छ नजाउँ भनौं। अर्को मनले भन्छ, हैन त्यसो गर्नु हुदैन। स्वास्थ्य क्षेत्रमा काम गर्ने परिवारका सबैले त्यसै भन्ने हो भने कसरी चल्छ अस्पताल? कसरी पाउँछन् मानिसले उपचार? त्यसैले छोरो र म उनलाई उच्च मनोबलका साथ तयार पार्छौ र काममा जान अभिप्रेरित गर्छौं।
सिटी लकडाउन छ। बाहिर निस्कने कुरै भएन। अरू बेला पनि यो विरानो सहरमा लगभग एक्लो परिवार हो मेरो, जानु नै पो कस्कोमा थियो र ? अरू भए नै पनि रोम गए रोमन जस्तै गर्नुपर्छ भनेझै अमेरिका आएपछि आफ्नो समुदायमा नगरे पनि अरूसँग अमेरिकी जस्तै व्यवहार गर्नुपर्यो। अरूकोमा जाने चलन पातलै हुन्छ यहाँ। मन परे पनि नपरे पनि यही चलन पछ्याउनुको विकल्प छैन।
अमेरिकाका अरू सहर जहाँ आफन्त छन् त्यहाँ जाने पनि कुरा भएन, न हवाइ जहाज उडेका छन्, न गाडी चलेका। नेपाल फर्कौं, लकडाउन भैसक्यो मेरो देश। नेपाली नागरिकता बचाएका मजस्ता नेपाली चाहेर पनि फर्कन पाउँने अवस्था छैन। परदेशीका लागि साह्रो गाह्रो पर्दा आफ्नो देश फर्कन नपाउने यो अवस्था पक्कै पनि सहज हैन। तर, पनि अहिलेका लागि हामीसँग यसको विकल्प छैन।
अस्ति आमासँग फेसबुकमा भिडियो चाट गरे। आमाले भनिन्, 'खै के भनाै काइला। धेरै नपढाको भए, ठूलो मान्छे नबनाको भए आज तँ मसँगै हुने थिइस्।' हुन पनि हो, उनले बनिबुतो गरेर नपढाएको भएँ, आज म अमेरिकामा हुने थिइन। जीवनमा अरू खालको दु:ख हुन्थ्यो होला तर यतिबेला बुढेसकालको लाठो भएर आमासँगै त हुने थिएँ होला। अरू नभए पनि पीर परेको बेला आमाको गालामा झरेका आँसुका धारा आफ्नै हातले पुछिदिन त सक्ने थिएँ।
संसारभर छरिएर रहेका नेपाली दुई खालका छौं। एक खालका नेपाली नागरिकताका हिसावले पनि नेपाली नै छौं भने अर्का खालका नेपाली नागरिकताका हिसाबले विदेशी भैसके। दुबैथरिको जन्मभूमि नेपाल होला, उनीहरूका आफन्त नेपालमा होलान्, भाषा, संस्कृति, आनिबानी, चालचलन सबै नेपाली होला तर पनि देश त फरक भैसक्यो। यसरी हेर्दा पहिलो थरि नेपाली हुन् भने दोस्रो थरि विदेशी। कानुनी हिसाबले हेर्दा नेपालमा जन्नेको रामबहादुर अमेरिकी नागरिक भैसक्यो भने ऊ यही जन्मेको रेमन जस्तै हो। यद्यपि, गैरआवासीय नेपाली राजनीतिका कारण प्राविधिक नेपालीको प्रावधान नेपालको संविधानमा छ।
जे भए पनि दुबै खालका नेपालीको नेपालसँग भावनात्मक साइनो छ। यही साइनोका कारण क्वारेन्टिन, सेल्फ क्वारिन्टिन, लक डाउन, पज जे भने पनि ती सबैका कारण संसारभरका नेपाली फुर्सदमा छन्। यो फुर्सदमा पनि उनीहरूो दिमाख भने खालि छैन, त्यहाँ एउटै कुरा भरिएको छ, कोरोना। हामी नेपाली जाति यसै पनि मस्तिस्कले कम र बढी मनले चल्ने जातिमा पर्छौं। अर्थात् हामी अलि बढी नै भावुक छौं, त्यसैले यतिबेला भावनामा बगेर अनेक खालका निराशावादी सोचमा परेका छौं ।
यदाकदा म पनि सोच्छु, कथमकदाचित यतिबेलै कोरोनाले लग्यो भने के मेरो जीवन सार्थक भयो त ? म पछाडि फर्केर हेर्छु, मैले गरेको त केही पनि रहेन छ। जीवनमा जे गरें त्यो सबैले एउटा एक्स्ट्रा अर्डिनरी आधारको अमेरिकी ग्रीन कार्ड साटेछु। त्यसपछि त केही नै बाँकि रहेनछ मसँग। जीवनमा गरेका सबै कामको उपलव्धी अमेरिकामा स्थायी रूपमा बस्न पाउँने एउटा कागज, के त्यहीका लागि थियो त मेरो जीवन ?
यही प्रश्नको उत्तर खोज्न अस्ति आमासँग फेसबुकमा भिडियो चाट गरे। आमाले भनिन्, 'खै के भनाै काइला। धेरै नपढाको भए, ठूलो मान्छे नबनाको भए आज तँ मसँगै त हुने थिइस्।' त्यसपछि आमा रून थालिन्। मैले पनि आँसु थाम्न सकिन। आमालाई गाह्रो हुन्छ भनेर भिडियो चाट अफ गरें। त्यसपछि धेरैबेर एक्लै रोए।
आमाले फेरि पनि मलाई जीवनको ऐना देखाइ दिइन्। हुन पनि हो, उनले बनिबुतो गरेर नपढाएको भएँ, आज म अमेरिकामा हुने थिइँन। जीवनमा अरू खालको दु:ख हुन्थ्यो होला तर यतिबेला धक पुग्ने गरी आमाको काँखमा टाउको राखेर रून त पाउने थिएँ। उनको गालामा झरेका आँसुका धारा आफ्नै हातले पुछ्न त पाउँने थिएँ।
मन एकैछिन पनि अडिएन। तर, के गर्ने?, जान चाहेर पनि कहाँ जान सकिन्छ र अहिले?
म सोचमग्न भएछु। छोरो आएर गालामा झरेका आँसु पुछिदिदै भन्यो, 'बाबा, रूनुभएको?' झसङ्ग हुँदै भने, 'हैन बाबु आँखामा कसिङ्गर परेछ।'
हामी परदेशमा यसरी नै आँखामा कसिङ्गर पार्छौं र बगाइरहन्छौं। लाग्छ, हामी यही नियतिका लागि अभिसप्त छौं ।