काेराेनाबाट स्पेनमा एकै दिनमा ८३८ व्यक्तिको मृत्यु

स्पेनमा २४ घण्टामा ८३८ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ । उक्त समयमा थप छ हजार ५०० व्यक्तिमा संक्रमण देखिएको छ ।

विश्वव्यापी प्रकोपका रूपमा फैलिएको कोरोना भाइरसबाट स्पेनमा आइतबार साँझसम्ममा छ हजार ५२८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । स्पेनमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ७८ हजार ७९७ रहेको छ भने यसमध्ये चार हजार ९०० विरामीमा जटिल खालको संक्रमण भेटिएको छ ।

स्पेनमा संक्रमित भएका १४ हजार ७०० व्यक्ति उपचारपछि निको भएर घर फर्किसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्पेनको राजधानी मड्रिड र क्याटलोनिया क्षेत्रमा संक्रमण अत्यधिक फैलिएको छ । मड्रिडमा करिब २२ हजार र क्याटलोनियामा १५ हजारभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ । 

आइतबार साँझसम्ममा विश्वभर संक्रमितको सङ्ख्या छ लाख ८० हजारभन्दा बढी पुगेको छ भने ३१ हजार ९२० जनाको मृत्यु भैसकेको छ । 
 

प्रकाशित मिति: : 2020-03-30 07:50:31

प्रतिकृया दिनुहोस्