ढाकाबाट दुबई जान उडेको विमान अपहरण प्रयासपछि आपतकालीन अवतरण

तस्बिरः द डेली स्टार

बंगलादेशको सरकारी वायुसेवा कम्पनी विमान बंगलादेशको विमान अपहरणमा परेको छ। १ सय ४२ जना यात्रु बोकेर बंगलादेशको राजधानी ढाकाबाट दुबईतर्फ उडेको यात्रुवाहक विमान अपहरण गर्ने प्रयास आइतबार राति असफल भएको छ। 

बंगलादेशी मिडिया बीडीन्युजका अनुसार अपहरणकारीले आइतबार दिउँसो विमानका पाइलटको टाउकोमा बन्दूक तेर्स्याएका थिए। 

विमानलाई चित्तगंगमा साँझ ५ बजेर ४१ मिनेटमा आपतकालीन अवतरण गराइएको बिबिसीले जनाएको छ। अवतरण गर्ने बित्तिकै चारैतिरबाट सुरक्षाकर्मीले घेरेका थिए। 

रेस्क्यू अपरेसनमा सहभागी भएका एयर भाइस मार्सल मुहम्मद मफिदुर रहमानले राति पौने आठ बजे अपहरणकारीलाई गिरफ्तार गरिएको जानकारी दिएका थिए। 

आपतकाली अवतरणपछि सबै यात्रुहरूलाई सुरक्षित रूपमा विमानबाट बाहिर निकालिएको विवरणहरूमा जनाइएको छ। विमानलाई सुरक्षाकर्मीले घेरा हालेको तस्बिर द डेलीस्टारले प्रकाशित गरेको छ।

अपहरण गर्न खोज्नेले बंगलादेशी प्रधानमन्त्री शेख हसिनासित कुरा गर्न चाहेका थिए। 

बंगलादेश नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष नइम हसनले अपहरण गर्न खोज्नेको उसकी श्रीमतीसित झगडा भएको र प्रधानमन्त्रीसित यसबारे कुरा गर्न चाहेको बताए। 

बंगलादेशी वायुसेनाले आइतबार राति ७ बजेर १७ मिनेटदेखि ८ मिनेट रेस्क्यु अपरेसन गरेको थियो। 

नइमका अनुसार केही मानसिक असन्तुलन. देखिएका अपहरण गरन खोज्ने व्यक्तिलाई घाइते अवस्थामा विमानबाट बाहिर निकालिएको थियो। उनले तारहरु भएको लुगा लगाएका थिए। उसले बंगाली बोलेको र बंगलादेशी जस्तो देखिएको उनले बताए। 

उडान र अवतरण बन्द गरिएको विमानस्थल राति ८ बजे खुला गरिएको थियो। 

 

प्रकाशित मिति: : 2019-02-25 00:00:02

प्रतिकृया दिनुहोस्