लकडाउन उल्लंघन गर्ने १३९ जना शनिबार बिहानै पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरी कडा रुपमा उत्रिन थालेको छ।

शनिबार बिहान ८ बजेसम्मको अवधिमा मात्रै प्रहरीले १ सय ३० जना पुरुष र ९ महिला गरी १ सय ३९ जनालाई पक्राउ गरेको छ। 

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेल भन्छन्, ‘अब सबैले लकडाउन के हो? कसको लागि भन्ने बुझिसक्नु भएको छ। एउटा व्यक्तिको लापरबाहीले पूरै समाज संक्रमित हुनसक्ने भएकाले अब कसैलाई छुट हुँदैन।’

उनले लकडाउनको पाँचै दिनसम्ममा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारी निर्णयको पूर्ण कार्यान्वयनका लागि प्रहरी आक्रामक रुपमा प्रस्तुत हुने बताए।

प्रहरीले अत्यावश्यक कामविना सडकमा ननिस्किन पनि सर्वसाधारणलाई आह्वान उनले गरेका छन्।
 

प्रकाशित मिति: : 2020-03-28 21:21:03

प्रतिकृया दिनुहोस्