कर्णाली प्रदेशमा ५० करोडको कोष, स्वास्थ्यकर्मीको तलब शतप्रतिशत वृद्धि

कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण र उपचारका लागि ५० करोड रुपैयाँको विपद् व्यवस्थापन कोष खडा गरेको छ।

शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ५० करोड रूपैयाँको कोष खडा गरेको घोषणा गरेका छन्।

विपद व्यवस्थापनको लागि स्थापना गरिएको कोषमा मुख्यमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यले १ महिनाको पारिश्रमिक जम्मा गर्ने शाहीले जनाएका छन्। साथै जनप्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारीहरु, उद्योगी, व्यापारी, अन्य संघ संस्थाहरु र दाताहरु लगायत आम नागरिकलाई यस कोषमा आ–आफ्नो तर्फबाट सहयोग गर्नको लागि आव्हान गरिएको छ।

प्रदेश सरकारको नेतृत्वमा राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मी समेतको संलग्नतामा औषधि, स्वास्थ्य सामाग्री तथा स्वास्थ्यकर्मी व्यवस्थापन समिति, दैनिक उपभोग्य बस्तुहरुको आपूर्ति व्यवस्थापन समिति, सम्भावित जोखिममा रहेकाहरुलाई क्वारेन्टिन तथा शान्ति सुरक्षा समिति लगायतका समितिहरुले रोकथाम, नियन्त्रण र उपचारका क्रियाकलापहरु सञ्चालन गरिरहेको मुख्यमन्त्री शाहीले जनाएका छन्।

कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचार कार्यको प्रभावकारिता वृद्धि गर्न हेल्थ डेस्क, क्वारेन्टिन र आइसोलेशनमा खटिने सुरक्षाकर्मीलाई सुरू तलव स्केलको ५० प्रतिशत तथा चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई सतप्रतिशत थप तलव सुविधा उपलब्ध गराउनेप्रदेश सरकारले घोषणा गरेको छ।

प्रदेश सरकारले कोरोना संक्रमणबाट प्रभावित मानिसको उद्धार तथा अन्य सहयोगका लागि १११० नम्बरको हटलाइन सेवा सञ्चालन गरेको पनि स्पष्ट पारेको छ।

कोरोना भाइरस (कोभिड-१९) सम्बन्धमा माननीय मुख्यमन्त्रीज्यूद्वारा कर्णाली प्रदेशवासी आम नागरिकलार्इ गर्नुभएको सम्वोधन

आदरणीय कर्णालीबासी आमा, वुवा, दिदी बहिनी तथा दाजुभाइहरू,

कोरोना भाइरस (कोभिड-१९)को प्रभाव नेपाल लगायत विश्वव्यापी रुपमा परेको छ। नेपालमा कोरोना संक्रमित विरामी भेटिएबाट यसको सम्भावित जोखिम रोकथामका लागि नेपाल सरकारले चैत्र ११ गते देखि १८ गते सम्म घरभित्र बस्ने गरी देशभर बन्दको आदेश (लकडाउन) गरेको छ। नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले महामारीको सम्भावित जोखिम रोकथामका लागि गरेका प्रयासलाई आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुहुन हार्दिक आव्हान गर्दछु ।  

यस्तो विषम परिस्थितिमा आम जनसमुदायसँग आफ्नो घरबाट बाहिर ननिस्कनुहुन हार्दिक आग्रह गर्दछु। कोरोना भाइरस संक्रमणबाट जोगिन भिडभाड हुने गरी कुनै पनि कार्य नगर्नुहुन र सरसफाइ तथा स्वास्थ्य सावधानीका उपायहरु अपनाउनुहुन अनुरोध गर्दछु।     

कोरोना भार्इरस (कोभिड-१९) को रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश सरकारले रू. ५० करोडको विपद् व्यवस्थापन कोष खडा गरेको छ। विपद व्यवस्थापनको लागि स्थापना गरिएको कोषमा म लगायत मेरो मन्त्रिपरिषद्का सदस्यले १ महिनाको पारिश्रमिक जम्मा गरेका छौं । साथै जनप्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारीहरु, उद्योगी, व्यापारी, अन्य संघ संस्थाहरु र दाताहरु लगायत आम नागरिकलाई यस कोषमा आ-आफ्नो तर्फबाट सहयोग गर्नको लागि हार्दिक आव्हान गर्दछु।

प्रदेश सरकारको नेतृत्वमा राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मी समेतको संलग्नतामा औषधि, स्वास्थ्य सामाग्री तथा स्वास्थ्यकर्मी व्यवस्थापन समिति, दैनिक उपभोग्य बस्तुहरुको आपूर्ति व्यवस्थापन समिति, सम्भावित जोखिममा रहेकाहरुलाई क्वारेन्टाइन तथा शान्ति सुरक्षा समिति लगायतका समितिहरुले रोकथाम, नियन्त्रण र उपचारका क्रियाकलापहरु सञ्चालन गरिरहेका छन । कोरोना भार्इरस (कोभिड-१९)को रोकथाम, नियन्त्रण र उपचार कार्यको प्रभावकारिता वृद्धि गर्न हेल्थ डेस्क, क्वारेन्टाइन र आइसोलेशनमा खटिने सुरक्षाकर्मीलार्इ सुरू तलव स्केलको ५० प्रतिशत तथा चिकित्सक र स्वास्थ्यकर्मीहरूलार्इ सतप्रतिशत थप तलव सुविधा उपलब्ध गराउने व्यवस्था मिलाएको छु ।  

जिल्ला विपद व्यवस्थापन समितिको लागि आवश्यक कोषको व्यवस्था गरिएको छ । कोरोनाको सम्भावित जोखिम न्यूनीकरणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल, स्थानीय तह, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारीलार्इ हरसम्भव परिचालनको व्यवस्था मिलार्इएको छ।

यस कार्यमा राजनीतिक दल, सामाजिक तथा सामुदायिक सँघ सँस्था, लगायत समाजका सम्पूर्ण तह र तप्कालार्इ आवश्यक सहयोग र सहजीकरणका लागि आव्हान गर्दछु। प्रदेश सरकारले कोरोना संक्रमणबाट प्रभावित मानिसको उद्धार तथा अन्य सहयोगका लागि ११ १० नम्बरको हटलाईन सेवा सञ्चालन गरेको छ।

आदरणीय कर्णालीबासी आमा, वुवा, दिदी बहिनी तथा दाजुभाइहरु,

छिमेकी मुलुक भारत र अन्य मुलुकबाट भर्खरै आउनु भएका दाजुभाइ तथा दिदीवहिनीहरु कम्तीमा १४ दिन अन्य मानिसको सम्पर्कबाट टाढा रही आफू र आफ्ना परिवार तथा समाजलाई संक्रमणको जोखिमबाट बचाई जिम्मेवार नागरिकको भूमिका निर्वाह गरिदिनुहुन अनुरोध गर्दछु।

यस कार्यमा सहायता र सहजीकरणका लागि सम्बन्धित स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, सभाका सदस्यहरु, सामुदायिक संघ संस्था र नागरिक समाजलाई आग्रह गर्दछु । ज्वरो आउने, थकान महसुस हुने, सुख्खा खोकी लाग्ने, सास फेर्न कठीन हुने, मांशपेशी दुख्ने जस्ता लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्था, अस्पताल वा हेल्थ डेस्कमा सम्पर्क गर्न तथा हटलाईन सेवा ११ १० र फोन नं. ०८३-५२२५२६ मा सम्पर्क गर्नुहुन आग्रह गर्दछु।

साथै कोरोना संक्रमण विरुद्धको कारवाहीमा अग्रपङ्तीमा खटिनुहुने चिकित्सक एवं स्वास्थ्यकर्मीलाई उच्च मनोवलसाथ काम गर्ने वातावरण निर्माणको लागि सहयोग गर्न आम नागरिकलाई हार्दिक अपिल गर्दछु। यस कठिन घडिमा अत्यावश्यक उपभोग्य सामाग्री सहज उपलब्ध गराइदिनुहुन निजिक्षेत्र एवं नागरिक समाजलाई आव्हान गर्दै आम उपभोक्ताले समेत उपभोग्य सामाग्री अनावश्यक सञ्चित नगरी जनजीवनलाई सामान्य वनाउन सहयोग गरिदिनुहुन आग्रह गर्दछु। कोरोना संक्रमण र यसको सुरक्षाको लागि आवश्यक सूचनामूलक सामाग्रीहरु प्रकाशन तथा प्रसारण गरिदिनुहुन समग्र सञ्चारजगतलाई अनुरोध गर्दछु।   

यस्तो विषम परिस्थितिमा कोरोना संक्रमण विरुद्धको साझा अभियानलाई जो जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ डराएर र आत्तिएर होइन धैर्यता र संयमता अपनाएर कोरोना संक्रमणबाट आफूलाई सुरक्षित राखी परिवार तथा समाजलाई सुरक्षित राख्न सहयोग गरिदिनु अनुरोध गर्दछु । धन्यबाद ।

प्रकाशित मिति: : 2020-03-28 10:43:37

प्रतिकृया दिनुहोस्