विदेश बस्‍ने नेपालीलाई पैसा पठाउन सरकारले सहजीकरण गरिदिने

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले विदेश बस्‍ने नेपालीलाई पैसा पठाउन सरकारले सहजीकरण गरिदिने भएकाे छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार बसेको कोभिड–१९ रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले विदेशमा भएका नेपाली विद्यार्थीलाई खर्च पठाउनका लागि पनि सहजीकरण गरिदिने निर्णय गरेको हाे।

बैठकपछि अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले भने,  ‘विदेशमा रहेका नेपाली विद्यार्थीलाई अभिभावकहरुले खर्च पठाउने हो। हामीले आवश्यक डलर सटहीदेखि पठाउने प्रक्रियासम्म सहजीकरण गर्ने निर्णय गरेका छौं।’

यस्तै अलपत्र परेका पर्यटकहरुलाई सडकमार्गबाट पनि काठमाडौं ल्याउने निर्णय भएको उनले बताए। ‘नेपालमा रहेका विदेशीहरु आफ्नो देश फर्किन चाहन्छन् भने उनीहरुलाई सम्बन्धित दूतावासमार्फत् सहजीकरण गरिदिने भएको छ,’ उनले भने। यसअघि समिति बैठकले नेपालस्थित विदेशी नागरिकलाई उद्धार गरेर क्‍वारेन्टाइनमा राख्ने निर्णय गरेको थियो।

यस्तै बैठकले कोलकत्ता भन्सारबाट नेपाली भन्सार विन्दुसम्म आएर रोकिएका सामानहरु छुटाउन सहजीकरण गर्ने निर्णय गरेको छ। कुल्ली, भन्सार एजेन्ट नभएका तथा कागजपत्र पुर्‍याउन नसकेर सामान रोकिएको भए फोटोकपीका आधारमा समेत ती सामानहरु छुटाउन सकिने समेत समितिको निर्णय छ।
 

प्रकाशित मिति: : 2020-03-28 10:31:42

प्रतिकृया दिनुहोस्