स्पेनको राजधानीमा चिनियाँ कम्पनीले निर्माण गरेको कोरोना भाइरस परीक्षण गर्ने किट्सको प्रयोगमा रोक लगाइएको छ। शोधकर्ताहरुले उक्त किट्सहरु विश्वसनीय नरहेको निष्कर्ष निकालेसँगै राजधानी मड्रिडमा उक्त किट्सको प्रयोगमा रोक लगाइएको हो।
स्पेनिस पत्रिका एल पेइसले मेड्रिड सरकारले बायोइजीले निर्माण गरेको किट्समा रोक लगाउने निर्णय गरेको उल्लेख गरेको छ। स्पेनले यो कम्पनीलाई ३ लाख ४० हजार परीक्षण किट्सको अर्डर दिएको थियो। तर स्पेनको स्वास्थ्य मन्त्रालयले त्रुटि देखिएका किट्सहरु फेर्न बायोइजीलाई निर्देशन दिएको छ।
स्पेनको अग्रणी शोधकर्ता संस्था एसईआईएमसीले आफ्नो वेबसाइटमा चीनको शेन्जेनमा रहेको बायोइजी बायोटेक्नोलोजीले निर्माण गरेको ‘नोज स्वाब’को एक्युरेसी ३० प्रतिशतभन्दा कम देखिएको उल्लेख गरेको छ।
पत्रिकाले उल्लेख गरेअनुसार बायोइजीले आफ्नो उत्पादनले ८० प्रतिशत सही नतिजा दिने उल्लेख गरेको छ। तर, जाँचमा भने त्यस्तो नपाइएको एसईआईएमसीको अध्ययनमा देखिएको छ।
स्पेनमा निरन्तर यो भाइरसका संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको चिनियाँ किट्समाथि आशंका पैदा भएको हो। यस विषयमा चिनियाँ कम्पनीले भने कुनै प्रतिक्रिया दिएको छैन। चेक गणतन्त्रमा पनि चिनियाँ कम्पनीले निर्माण गरेको मेडिकल उपकरणको विषयमा प्रश्न उठेको छ।
स्पेनमा अहिलेसम्म यो भाइरसको संक्रमण ५७ हजार नाघिसकेको छ भने ४ हजार ३ सय भन्दा धेरैको ज्यान गइसकेको छ।