मैले चालीसको दशकको सुरूमा पत्रकारिता सुरू गरेको हुँ। त्यतिबेला राजनीतिक पार्टीमाथि प्रतिवन्ध लागेको थियो, नेता भूमिगत थिएँ। पञ्चायतविरोधी प्रतिपक्ष राजनीति विद्यार्थी र पत्रकारले थामिदिनु पर्थ्यो। राजनीतिक सचेतना भएका विद्यार्थी जसको भाषा राम्रो हुन्थ्यो, त्यतिबेला पत्रकार हुनका लागि चाहिने सबैभन्दा ठूलो योग्यता त्यही हुन्थ्यो।
म यिनै योग्यताका आधारमा पत्रकार हुन पुगेको थिएँ। पत्रकारिताको सैद्धान्तिक ज्ञान शुन्य थियो। हामी नेपाली भाषाका लागि गोरखापत्र हेर्थ्यौ। पत्रकारिताको भाषा हेर्न किशोर नेपाल, होमनाथ दाहाल, नारायण ढकाल, रघु पन्त, गोविन्द वियोगी, मदनमणि दीक्षित आदि हेर्थ्यौ। आफ्नो पार्टीको प्रशंसा गर्न र अर्को पार्टीलाई गाली गर्न जान्नुपर्थ्यो।नेताका लागि पनि त्यस्तै विशेषण छान्न जान्नुपर्थ्यो।
त्यतिबेला अखिलको राजनीति गर्ने छलफल, दृष्टि, प्रकाशलगायतका पत्रिकाका छातामुनि हुन्थे, नेविसंघको राजनीति गर्ने दशान्तर, राष्ट्रपुकार, सुरूचिलगायतका पत्रिकाका छातामुनि। दैनिक र ब्रोडसिटेड पत्रिकाको पर्याय गोरखापत्र थियो। यो सरकारी भएकाले विज्ञापन हेर्न र भाषा हेर्न काम लाग्थ्यो। वास्तविक पत्रकारिता साप्ताहिक पत्रिकाले धानेका थिए।हरेक दिनजसो पञ्चायतविरोधी दुई धारका एकएकवटा पत्रिका निस्कन्थे। पत्रकार, पाठक सबै राजनीतिक विचारका आधारमा ध्रुवीकृत थिए। धेरैजसो पाठकले आआफ्नो विचारअनुसारका पत्रिका मात्र किन्थे। राष्ट्रिय महत्वका केही घटना हुने बित्तिकै पत्रिका किन्नेको लामो लाइन लाग्थ्यो। त्यस कालखण्डमा सूचना स्रोतको अभाव थियो र त्यसको अचाक्ली ठूलो मूल्य पनि थियो।
पञ्चायतविरोधी पत्रिका घरमा राखेकाेमा समेत जेल जानुपर्ने त्यो बेला पत्रकार हुनु ठूलो जोखिम उठाउनु थियो। त्यही जोखिमका कारण पत्रकारसँग टाढा टाढा हुन्थे मान्छे। पत्रकारसँग साइनो जोड्न डराउथे मान्छे, अपवाद बाहेक पत्रकारलाई छोरी दिदैनथे। कमाइ पनि नहुने कुनै पनि जेलनेल पनि जानसक्ने। त्यस्तो जमाना थियो त्यो। अर्थात् पत्रकार हुन गाह्रो मात्र हैन, धेरै गाह्रो समय थियो।
त्यतिबेला पत्रकारिता गर्नुको एउटै लक्ष्य थियो, मुलुकबाट पञ्चायती व्यवस्था फालेर अभिव्यक्ति स्वतन्त्रतासहितको लोकतान्त्रिक व्यवस्था ल्याउने। प्रजातान्त्रिक वृतबाट पत्रकारिता गर्नेको गन्तव्य राजा फाल्ने थिएन किनकि उनीहरू वीपीको राष्ट्रिय मेलमिलाप नीतिलाई मार्गदर्शक सिद्धान्त मान्थें। त्यसमा वीपीले राजा र आफ्नो घाँटी जोडिएको भनेका थिए। तर, गणेशमान सिंहलाई मान्नेहरू भने त्योभन्दा फरक सोच राख्थे।
वामपन्थी धारबाट पत्रकारिता गर्ने हामी जस्तालाई भने राजा नै निरंकुशताको प्रतीक हो भनेर प्रशिक्षण दिइएको हुन्थ्यो। हामी यस अर्थमा प्रजातान्त्रिक धारभन्दा एक पाइला अघि थियौ। तर, प्रजातान्त्रिक धारबाट पत्रकारिता गर्नेलाई हाम्रो पार्टी र नेतालाई कांग्रेस सक्न दरवारले उत्पादन गरको भनेर पढाइएको हुन्थ्यो । उनीहरू हामीलाई त्यही भनेर गाली गर्थे।
हामीबीच आआफ्ना पार्टी, नीति र नेता बचाउने कुरामा तीव्र मतभेद रहे पनि पञ्चायत फाल्ने कुरामा भने एकमत थियो। हामी त्यही आधारमा हाम्रो प्रधानशत्रु हटाउन एकजुट भएर मिशन पत्रकारिता गर्थ्यौ, त्यतिबेला आज जस्तो व्यावसायिक पत्रकारिताको त कल्पना गर्न पनि सकिने अवस्था थिएन।
त्यही पत्रकारिताले बनाएको सूचना र सचेतनाको गोरेटो राजनीतिक राजमार्गमा परिणत हुँदा नेपाल प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रको आजको गन्तव्यमा पुगेको हो । हो, हरेक तन्त्रजस्तै गणतन्त्रले पनि नेपाली जनताका अपेक्षाको खासै सम्बोधन गर्न सकेको छैन। यो यथार्थ हो । तर, यो पनि सत्य हो कि नेपालमा योभन्दा राम्रो राजनीतिक प्रणाली यसअघि कहिल्यै थिएन। किनकि, यो व्यवस्था सर्वोत्तम हैन तर खराबमध्ये कम खराब भने अवश्य हो।
नेपाली पत्रकारितामा आज एउटा यस्तो भुईफुट्टा वर्ग जन्मिएको छ, उसलाई न नेपाली पत्रकारिताको इतिहास थाहा छ, न नेपालका अग्रज पत्रकारको संघर्ष र योगदान। आज सजिलो पत्रकारिता गर्न पाएको यो वर्ग यसमा फिट नभए पनि जबर्जस्ती गरिरहेको छ। उनीहरूको त्यही जबर्जस्तीले पत्रकारिताको मान, मर्यादा र प्रतिष्ठा स्खलित भएको हो।
हामी नेपालीको यादगार कमजोर छ, हामी हिजोको कुरा छिट्टै विर्सन्छौं। हामीसँग अर्को पनि समस्या छ, त्यो भनेको अरूले भोगेको सत्यलाई सजिलै स्वीकार नगर्ने हो। कयौ मान्छेले हिजोको पञ्चायती कालरात्रीका पीडा र ज्ञानेन्द्रको शाही शासनका हर्कत बिर्सिसके। कयौैसँग अरूले भोगेका ती नीला पीडाका सत्यलाई स्वीकार्ने विवेक पनि छैन।
हाम्रो समाजका हरेक तह र तप्काका मानिसको आमचरित्र नै हो यो। यो चरित्र पत्रकारिताभित्रै पनि छ, बाहिरबाट पत्रकारितालाई हेर्नेमा पनि छ। यही दोहोरो मारले आज नेपाली पत्रकारिता पीडित र निम्छरो बनाइएको छ।
यही सन्दर्भमा पहिला पत्रकारिताभित्रका कुरा गरौं, नेपाली पत्रकारितामा आज एउटा यस्तो भुईफुट्टा वर्ग जन्मिएको छ, उसलाई न नेपाली पत्रकारिताको इतिहास थाहा छ, न नेपालका अग्रज पत्रकारको संघर्ष र योगदान। यो वर्गले आज सजिलो पत्रकारिता गर्न पाएको छ, राम्रै तलव पाएको छ, कलमी गुण्डा भएर अन्टसन्ट जे पायो त्यही लेख्न पाएको छ, पुरस्कार, तक्मा, देश विदेश भ्रमण, पार्टी, सौजन्य, जंकिटलगायतका धेरै कुरा पाएको छ। त्यसैले ऊ यसमा फिट नभए पनि जबर्जस्ती गरिरहेको छ। त्यही जबर्जस्ती गर्ने भीडले गर्दा पत्रकारिताको मान, मर्यादा र प्रतिष्ठा स्खलित भएको छ, पत्रकारिताको औचित्य र गरीमामाथि नै प्रश्नचिन्ह लागेको छ।
यसो भन्दा धेरैलाई चित्त दुख्न सक्छ, तर यो यथार्थ हो र यो यथार्थ स्वीकार्न जो सक्छ, त्यो मात्र पत्रकार हुनसक्छ भन्ने मलाई लाग्छ । यसको अर्थ सत् प्रतिशत यस्तै छन्, त्यो पनि हैन। केही अपवाद छन् र केही टिक्न नसकेर अन्य पेशा, व्यवसायतिर लागेका छन्, केही विदेशिएका छन्। म आफूलाई पनि आजको नेपाली पत्रकारितामा बाँच्ने कला नभएर विदेशिएको एक पत्रकार ठान्छु।
अब पत्रकारितालाई बाहिरबाट हेर्नेको कुरा गरौं।अपवाद बाहेक पत्रकारितालाई बाहिरबाट हेर्नेको धारणा पनि सकारात्मक छैन। त्यसमा पनि बीचका मानिस, जो आधा गाग्रा हुन्, उनीहरू नै पत्रकारितामाथि अन्टसन्ट बोलिरहेका हुन्छन्। यसको मूलकारण उनीहरूमा सामाजिक सञ्जाल, सञ्चारकर्म र पत्रकारितावीचको भिन्नता थाहा नभएर हो। उनीहरूले पत्रकारिता के हो बुझेकै छैनन् र बुझ्न पनि चाहदैनन्। तर, आधिकारिक ज्ञाता जस्तो भएर पत्रकारिता यो हो र यो हैन भनिरहेका हुन्छन्। तर, उनीहरूले भनेको कुरा पत्रकारिता तथा आमसञ्चारको सिद्धान्तसँग गोरू बेचेको साइनो पनि हुदैन। जस्तो कि, पितपत्रकारिता । म सामाजिक सञ्जालमा धेरैले पत्रकारितालाई गाली गर्न यो शव्दावली प्रयोग गरेको देख्छु । उनीहरूले जुन प्रयोजनका लागि यसको प्रयोग गरेका हुन्छन्, त्यसको साइनो यल्लो जर्नालिज्मसँग कतै हुदैन।
कुनै बेला रिफ्युजी जर्नालिज्म विश्व पत्रकारिताकै एक आयामका रूपमा प्रस्तुत थियो। अहिले त्यो डायस्पोरिक जर्नालिज्ममा बढुवा भएको छ। नेपाली डायस्पोराले पनि त्यसको अभ्यास गरिरहेको छ। नेपालमा कुनै कालखण्डमा पत्रकारिता गर्नेको यो एक किसिमको रहर पत्रकारिताले साँच्चैको पत्रकारिता गर्नेलाई समस्या भएको छ। अमेरिकाकै नेपाली डायस्पोरिक पत्रकारितालाई हेर्ने हो भने चित्र छर्लङ्ग हुन्छ। नेपालमा साँच्चैको पत्रकारिता गरेका थुप्रै पत्रकार अमेरिकामा छन्। तर, उनीहरू यहाँ पत्रकारिता गर्न सकिरहेका छैनन्। किनकि, उनीहरू प्रकाशक हुन सक्दैनन्। जहाँ प्रकाशक पाइदैन, त्यहाँ पत्रकार हुन असम्भव हुन्छ। यहाँ जति पनि पत्रकार देख्छु, अपवाद बाहेक प्रकाशक र सम्पादक आफैं छन्। त्यसले सिर्जना गरेको मिडिया मिक्स अमेरिकाको नेपाली डायस्पोरिक पत्रकारिताका लागि अजिनोमोटो हुदै गएको छ।
यहाँको नेपाली डायस्पोरालाई मूलधारको मिडिया चाहिएको छैन किनकि अहिले यो त्यसलाई पाल्न सक्ने हैसियतमै छैन। स्रोतको मात्र हैन, सोचको पनि समस्या छ। अर्थात् नेपाली डायस्पोरामा मिडिया लिटरेसी नै छैन भने पनि हुन्छ। सोसल मिडिया त्यसमा पनि खासगरी फेसबुक भए पुग्छ अहिलेलाई । किनकि, हाम्रो हैसियत र मिडिया लिटरेसी यसकै लागि मात्र पुग्ने खालको छ। हात्ती बाँधेर बोकालाई हाल्ने घाँस हाल्यो भने हात्तीको हालत के हुन्छ, अमेरिकाको नेपाली डायस्पोरा र यहाँको डायस्पोरिक नेपाली पत्रकारिताको समीकरण ठीक यस्तै छ।
कुनै बेला रिफ्युजी जर्नालिज्म विश्व पत्रकारिताकै एक आयामका रूपमा प्रस्तुत थियो। अहिले त्यो डायस्पोरिक जर्नालिज्ममा बढुवा भएको छ। नेपाली डायस्पोराले पनि त्यसको अभ्यास गरिरहेको छ। नेपालमा कुनै कालखण्डमा पत्रकारिता गर्नेको यो एक किसिमको रहर पत्रकारिताले साँच्चैको पत्रकारिता गर्नेलाई समस्या भएको छ। अमेरिकाकै नेपाली डायस्पोरिक पत्रकारितालाई हेर्ने हो भने चित्र छर्लङ्ग हुन्छ।
हामी एक खालको कुरा गरिरहेका छौं तर हाम्रो रियालिटीले अर्कै छ। यही पृष्ठभूमिमा नेपाली डायस्पोरिक पत्रकारितालाई हेरौं । अनि मात्र हामी सही ठाउँमा पुग्छौं ।
निष्कर्षमा अरूले ठान्ने र मान्ने पत्रकार बन्न हिजो पनि सजिलो थिएन र आज पनि छैन। तर, आफूले मात्रै ठान्ने र मान्ने पत्रकार बन्न सजिलो छ। सिटिजन जर्नालिज्मको युग हो यो, ईकारिताका लागि अनेक मिडिया प्लेटफर्म तयार छन्। यही सजिलो प्लेटफर्ममा अमेरिकाको नेपाली डायस्पोरामा देखिने/भेटिने रंगिविरंगी नेपाली पत्रकार देखेर यदाकदा ताजुव हुन्छु म - न भाषामा पोख्त छन्, न पत्रकारिताको सैद्धान्तिक ज्ञान छ- उनीहरू नै संस्था खोलेर मठाधीश भएका छन्। केही बोल्यो कि पोल्यो हुन्छ, भेडा भेडासँग बाख्रा बाख्रासँग भनेझै फेसबुकमा लाइन लागेर स्यालहुँइया मच्चाउँछन्।
मूल कुरा बोकाले दाइँ हुदैन। त्यो सत्य पहिला बोकाहरूलाई थाहा हुनुपर्यो, त्यसपछि दाइँ लाउनेलाई । अनि मात्र गोरूको खोजी हुन थाल्छ। नेपाली डायस्पोराका यी दुबै 'पार्टी' सँग त्यो सत्य स्विकार गर्ने साहस चाहिन्छ। अहिले तत्कालका लागि मैले त्यो भ्रमबाट माथि उठ्ने सम्भावना देखेको छैन।
अहिले कोराना संक्रमण छ, यतिबेला मिडिया डिपेन्डेन्सी थ्यौरीको आधारमा पत्रकारिता गर्नुपर्ने हुन्छ। यो पत्रकारिताको परीक्षा हो र यसका परिक्षार्थी भनेका पत्रकार हुन्। लाश गन्ने जल्लादको भूमिकामा छौं हामीहरू; कस्ले अवलम्वन गर्ने मिडिया डिपेन्डेन्सी थ्यौरी ?