हिन्दूहरू स्वभावलै गुणी र उपकारी हुन्छन्। आफूलाई थोरैमात्र भए पनि उपकार गर्ने व्यक्ति, बस्तु अन्नबाली, पशुपक्षी, किट पतंग, वृक्ष लता, वन पर्वत, नदी नाला, पृथ्वी,जल, अग्नि, वायु, सूर्य, चन्द्र, आदिलाई हामी कृतज्ञतापूर्वक सम्मान, आदर र पूजा गर्छौं।
यी सबैलाई हामी देवता भनेर सम्बोधन गर्छौं । यसर्थ हामी पृथ्वीलाई धर्तीमाता, नदीलाई गंगामाता, गाईलाई गौमाता, अन्नलाई अन्नपूर्णा देवी, सर्पलाई नागदेवता, सूर्यदेवता, वायुदेवता, जलदेवता, वृक्षदेवता, पर्वतदेवता, अग्निदेवता, यज्ञदेवता आदि नामले पुकारी पूजा- वन्दना- अर्चना गर्छौं।
जसले संसारलाई उपकार लगाएको छ उसलाई हामी देवता भन्दछौं । जसले दिन्छ ऊ देवता हो ।फल दिने वृक्ष दूध दिने गाई, जल दिने मेघ वा नदी । यीनले स्वयं खाँदैनन्, हामीलाई खुवाउँछन्। अरूलाई मात्र दिन्छन् र अरूकै लागि बाँच्छन्।
हामी यीनै प्रकृतिका सन्तान हौं। हामी यही प्रकृतिलाई ईश्वर भनेर मान्छौं । ईश्वरको अंश मानेर पूजा गर्दछौं। यस्तो संस्कृति अन्य कुनै जनजातिमा पाईंदैन। प्रकृतिसँग तालमेल मिलाएर बस्न जानेकाले नै संसार रम्य थियो। सुन्दर थियो। आफ्नो स्थितिमा थियो। जगत आफ्नो अनुकूल वातावरणमा थियो। तर आजका अत्याधुनिक मानव जगतले हाम्रो संस्कृतिलाई हास्यास्पद र मिथ्यादृष्टि मानी विपरित आचरण गर्न आरम्भ गर्न थाले। फलतः आज यस्ता यस्ता दुष्परिणाम भोग्नुपर्ने दुःखद परिस्थितिमा पुगेका छौं। क्रमश ...