काठमाडौंको काँठ आरुबारीमा जन्मिए । बुवा नामी साहित्यकार । लेख्नु उनको पहिचान थियो । लेखेरै नाम र ओजिलो इज्जत कमाएका थिए बुवा (रमेश विकल)ले । बुवाको लोभलाग्लो पहिचानले विजयलाई पनि तान्यो । उनले पनि बालवयमै लेख्न थाले– कथा र कविता । नियात्रा त उनले पछिमात्रै लेखे, जब देशदेशावर घुमे । पत्रकारिताका पुस्तक त पत्रकारिता अभ्यासपछि मात्रै छापे । काँठका जमिनदार भए पनि पढ्न लेख्नमा रुचि थियो । घर चलाउन बुवालाई सहयोग गर्नुपर्ने बाध्यता त थिएन तर पनि एसएलसी दिएकै साल ०२५ मा उनले पढाउन थाले । त्यसअघिदेखि नै उनका रचना ‘गोरखापत्र’मा छापिन थालेका थिए । कथा, कविता र लेख प्रकाशन हुन थालेका थिए । ‘गोरखापत्र’मा छापिएका तिनै रचनाको प्रतिक्रियाले उनलाई पत्रिकाको मोहले समातेको थियो । त्यसैले पढाउन थालेको ११ वर्षपछि उनले ‘गोरखापत्र’मा विज्ञापन देखे । त्यो विज्ञापनले उनको मनमा अन्तरसंघर्ष सिर्जना गर्यो । पढाइराखौं कि पत्रकारितको बाह्रखरी शुरू गरौं ? अन्ततः उनले निर्णय गरे— जान्छु पत्रकारितामा । सिक्छु समाचार लेख्न र बन्छु पत्रकार । अनि कमाउँछु इज्जत लेखेरै । बुवाको जस्तै । रमेशकै हाराहरीमा त उनले शायद लेख्न सकेनन् तर लेखे धेरै समाचार र आख्यान । चार दर्जन पुस्तकको कभरमा उनको नाम छ, लेखककै रूपमा । तर, त्योभन्दा धेरै उनले समाचारमै आफ्नो कलम दौडाए । फुर्सदको साहित्यलाई थाँती राखेर हामीले बुझ्ने प्रयास गर्यौं उनको हतारको साहित्यिक यात्रा र त्यसको उतारचढावको संघर्ष—