भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० पुग्याे, ४९९ संक्रमित

भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ। पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको हो। यता संक्रमितको संख्या ४९९ पुगेको छ। जसमा पछिल्लो २४ घण्टामै १०३ नयाँ संक्रमित फेला परेका छन्। 

भारतमा जनवरी ३० मा पहिलो पटक त्यहाँको केरला राज्यमा कोरोना संक्रमित भेटिएका थिए। त्यसयता विभिन्न राज्यमा कोरोना फैलिसकेको छ।

वल्र्डो मिटर्स डट कमका अनुसार भारतमा अहिलेसम्म ३४ जना संक्रमित निको भइसकेको छन्। अहिलेसम्म भारतमा कोरोना संक्रमित देखिएका मध्ये ४० जना भने विदेशी रहेको देखिन्छ भने अन्य अधिकांश केस पनि बाहिरबाटै आउनेमा देखिएको छ।
 
सोमबार पहिलोपटक पश्चिम बंगालमा एक जनाको मृत्यु भएको छ भने एक जनाको हिमाचल प्रदेशमा। आइतबार बिहारमा एकको मृत्यु भएको थियो। 

भारतको केरलामा थप २८ जना र महाराष्ट्रमा २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यसैगरी गुजरातमा थप १२ केस देखिएको जनाइएको छ। भारतभरि तीव्र रुपमा फैलँदै गएपछि अहिले त्यहाँका ५४८ जिल्लामा लकडाउन गरिसकेको आजतकले लेखेको छ। त्यहाँका ३० राज्य र केन्द्रशासित प्रदेशमा पूरै लकडाउन छ भने रेल, बस र हावाई सेवा पनि ठप्प छन्। 

प्रकाशित मिति: : 2020-03-24 20:09:00

प्रतिकृया दिनुहोस्