कोरोना संक्रमित भेटिएसँगै नेपाल ‘डेन्जर जोन’मा (भिडियाे)

बिएल संवाददाता

काठमाडाै‌ं

विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणका बिरामीको संख्यामा एक जना थपिएपछि नेपाल विश्व स्वास्थ्य संगठनको हरियो सूचिबाट बाहिरिएको छ।

सुरूमा चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन्। उपचार पश्चात उनी स्वस्थ्य भएको भन्दै विश्व स्वास्थ्य संगठनले नेपालाई हरियो कलरमा राखेको थियो।

छिमेकी राष्ट्र भारतमा संक्रमणको संख्या बढ्दै गएको बेला साेमबार  स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका छन्। 

संक्रमित ती व्यक्ति फ्रान्सबाट काठमाडौं आएकी मन्त्रालयले जनाएको छ। फ्रान्सबाट कतार हुँदै आएकी १९ वर्षीया ती युवतीमा कोरोना भाइरसको संक्रमण आइतबार साँझ पुष्टि भएको मन्त्री ढकालले जानकारी दिए।

‘उनको परिवारलाई क्वारेन्टाइनमा राखेका छौं र उनीसँगै जहाजमा आएका अन्य मानिस कहाँ-कहाँ छन्? भनेर खोजी गर्दैछौं’, पत्रकार सम्मेलनमा मन्त्री ढकालले भने।

यसैबीच कोरोना भाइरसको संक्रमणबाट नागरिकलाई बचाउन सरकारले आजदेखि नेपाल र भारतका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको छ।

आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेपालका सबै सीमानाका एक साताका लागि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति: : 2020-03-24 01:50:30

प्रतिकृया दिनुहोस्