अमेरिकाको न्युयोर्कमा दुई नेपालीलाई कोभिड-१९, भेन्टिलेटरमा राखेर उपचार जारी

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

अन्तत: जे नहोस् भनेको त्यही भयो। अमेरिकामा कोरोना भाइरस संक्रमणको इपिसेन्टर बनेको न्युयोर्कमा दुई नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ। उनीहरू दुबैको न्युयोर्कको कुइन्सस्थित एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको बताइएको छ। 

संक्रमित हुने दुबैजना अमेरिकामा नेपालीको बाक्लो बसोबास रहेको न्युयोर्कको कुइन्समा बसोबास गर्दै आएको बताइएको छ। उनीहरूमध्ये एकजना ४७ वर्षीय उबर चालक भएको बताइएको छ भने अर्का एकजनाको बारेमा भने थप विवरण दिइएको छैन।   

प्रेसरको औषधी प्रयोग गर्दै आएका उबर चालक सुरूमा सामान्य ज्वरो आएर अस्पताल गएका थिए। चारदिनपछिको फलोअपमा उनलाई निमोनिया भएको पाइयो । अहिले उनलाई सेन्टरलाइन औषधी चलाएर उपचार जारी राखिएको उनका एक पारिवारिक सदस्यले ब्रेक एन लिंक्सलाई बताए। 

यसैगरी ५० वर्षीय अर्का नेपाली भने मधुमेहका रोगी थिए । उच्च ज्वरो आएपछि अस्पताल पुर्‍याइए्का उनको श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गराइरहेको उनका एक आफन्तले ब्रेक एन लिंक्सलाई बताए । 

अमेरिकामा व्यक्तिको गोपनियतासम्बन्धी नियम हिप्पालाई ध्यानमा राखेर उनीहरूको परिचय भने सार्वजनिक गरिएको छैन।

 

प्रकाशित मिति: : 2020-03-24 01:12:31

प्रतिकृया दिनुहोस्