सोमबारबाट एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक यातायात सञ्चालनमा सरकारले रोक लगाएको छ। कोरोना भाइरस अर्थात कोभिड–१९ को त्रास बढेसँगै सरकारले सावधानी अपनाउन यस्तो निर्णय गरेको हो।
सोमबारबाट सरकारले लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको हो। लामो दूरी भन्नाले २ सय ५० किमिभन्दा टाढालाई मानिएको छ।
भैतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीका अनुसार हामीले भन्न खोजेको सहरभित्र चल्न पाउनेछन्, सहरबाट बाहिर जान भने पाउनेछैनन्। ‘सहरभित्र चल्ने सार्वजनिक साधनमा भने अवरोध हुनेछैन। सहरका जुनसुकै ठाउँमा पनि सवारीसाधन चल्न पाउँछन्। एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाउनेछैनन्,’उनले भने।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले शनिबार साँझ सूचना जारी गर्दै घर फर्कन चाहनेले रोक लगाउनुअघि नै प्रबन्ध गर्न आग्रह गरेको थियो।
बुधबारसम्मको टिकट बुक भए पनि सोमबारबाट लामो दूरीका सवारी बन्द हुने भएपछि यात्रुले आइतबार टिकट सारेर घर फर्किएका छन्। केही यात्रुले भने टिकट नपाएपछि घर जान नपाएको गुनासो गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ मा गरेको सम्बोधनमा भनिएअनुसार लामा दूरीका सवारीमा रोक लगाइएको मन्त्रालयले जनाएको छ। ‘पूरै लकडाउन नभए पनि मुभमेन्ट नहोस् भन्न यस्तो गरिएको हो, जो जहाँ छ, त्यहीँ बस भन्न खोजिएको हो,’ महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख (एसएसपी) भीमप्रसाद ढकालले भने। निजी र मालबाहक साधनलाई भने नरोकिने उनको भनाइ छ।
उनका अनुसार काभ्रेबाट काठमाडौं चल्ने स्थानीय रुटका गाडी पनि नचल्ने उनले जानकारी दिए। ‘उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंलाई एउटै सहर मानेर यी जिल्लामा लोकल गाडी चल्ने व्यवस्था गरिएको छ,’ उनले भने, ‘अघिपछि जस्तो काभ्रेबाट काठमाडौं यात्रु लिएर गाडी आउन भने पाउनेछैनन्।’
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबारयता ६ लाख ९२ हजार ५ सय २४ जनाले उपत्यका छाडेका छन्। सोमबारबाट लामो दूरीको गाडी बन्द हुने भएपछि आइतबार एकै दिन २ लाख २२ हजार ४ सय ७ जनाले उपत्यका छाडेको ढकालले जानकारी दिए।