भारतमा बसिरहेका नेपालीलाई स्थान नछाड्न र सुरक्षित रहन राजदूत आचार्यको आग्रह

जीवन डाँगी

नयाँ दिल्ली

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतका बिभिन्न शहरहरुमा बसोबास गरिरहेका नेपालीलाई नआत्तिन अनुरोध गरेका छन्। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ बाट बच्न संयममता अपनाउन आग्रह गरेका हुन्।

बिएल नेपाली सेवाको कुराकानीमा राजदूत आचार्यले सुरक्षित तरिकाले आआफ्नो स्थानमा बसेर स्वास्थ्य सतर्कताका साथै सबै नियम, अनुशासन पालन गरेर सुरक्षित रहन नेपालीहरुमा अनुरोध गरेका छन्।

‘नेपाली दाजु–भाई, दिदीबहिनीहरु मनमा त्रसा नराखेर सुरक्षित ठाउँमा बस्नुहोस्। मास्कको नियमित प्रयोग गर्ने गरौं। मेरो अनुरोध छ, भिडभाडमा जाने काम नगरौं। हात धोऔं, स्वच्छ रहौं सकभर प्रत्यक्ष सम्पर्क नगरौं, घरमै रहौं,’ उनले भने।

नेपाल–भारत सीमाना अहिलेसम्म खुल्ला रहेको र अब बन्द गर्ने वा नगर्ने दुई देशका सरकारबीचको छलफल र सहकार्यको बिषय भएको राजदूत आचार्यले बताए। सीमानामा गाउँ फर्किएका नेपाली नागरिकले दुःख भोग्नु नपरेको उनले स्पष्ट पारे। 

‘भारत–नेपालमा हेल्प डेस्क र स्वास्थ्य चेकजाँच गर्न राम्रो प्रबन्ध मिलाएका छौं। कहीकतै दुःख पाएको थाहा पाउन बितिकै तत्काल समाधान गर्ने प्रभावकारी संयन्त्र परिचालन गरिरहेका छौं,’राजदूत आचार्यले भने,‘यस्तो अवस्थामा सबै जना आ–आफ्नो ठाउँबाट सुरक्षित र चलाख हुनुपर्छ।,’

उनले भारत सरकारको निर्देशनमा राज्य सरकारहरुले जारी गरेका नियमहरु समेत पालना गर्न सचेत गराएका छन्। ‘मैले भारत सरकार र उनका बिभिन्न निकायहरुसँग सम्पर्क गरेर नेपाली नागरिकहरुको पछिल्लो अवस्थाका बारेमा जानकारी लिने काम गरिरहेको छु,’ उनले भने।

उनले दिल्ली दूतावासले सुरु गरेको हटलाइन सेवामा आएका बिभिन्न गुनासाहरुको सम्बन्धित निकायसँगको पहलमा तत्काल समाधान गरेको जानकारी दिए। 

प्रकाशित मिति: : 2020-03-23 02:52:00

प्रतिकृया दिनुहोस्