कोरोना भाइरस संक्रमणको आशंकामा थप २ जनालाई कञ्चनपुरस्थित महाकाली अस्पतालमा भर्ना गरिएको छ।
शनिबार दुबै गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका २ जनामा उच्च ज्वरो देखिएको थियो।
सीमा नाकामा परीक्षणका क्रममा ज्वरो उच्च देखिएपछि दुवै जनालाई महाकाली अस्पतालमा भर्ना गरिएको महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकृष्ण श्रेष्ठले बताए।
उनीहरुको खकारको नमुना सङ्कलन गरेर पठाइएको उनले जानकारी दिए। उनले भने, ‘नमुनाको रिर्पोट आएपछि मात्रै थप कुरा थाहा हुन्छ।’
यसअघि कैलालीको सेतीप्रादेशिक अस्पतालमा पनि तीन जना भर्ना भएका थिए। उनीहरुको पनि खकार संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ।