चिनियाँ कम्पनी अलिबाबाका संस्थापक तथा एसियाका सर्वाधिक धनी व्यक्ति ज्याक माले नेपाललगायत १० राष्ट्रलाई भेन्टिलेटर, टेस्टिङ किट र मास्क उपलब्ध गराउने भएका छन्।
विश्वभर फैलिरहेको कोरोना भाइरससँग जुध्न ज्याक माले १८ लाख थान मास्क, दुई लाख १० हजार टेस्टिङ किट र ३६ हजार भेन्टिलेटर, थर्मोमिटर उपलब्ध गराउने भएका हुन्।
शनिबार ट्वीट गर्दै उनले नेपाल, अफगानिस्तान,बंगलादेश, म्यानमार, मंगोलिया,माल्दिभ्स,श्रीलंका, कम्बोडिया, लावस र पाकिस्तानलाई सहयोग गर्ने बताएका छन्।
‘यो डेलिभर गर्न सजिलो छैन तर हामी चाँडो भन्दा चाँडो उपलब्ध गराउने छौं,’ ट्वीटमा उनले लेखेका छन्।
यसअघि उनले अमेरिकालाई पाँच लाख टेस्टिङ किट र दस लाख थान मास्क उपलब्ध गराएका थिए। चीनको अनुभवका आधारमा कोरोना भाइरस फैलावटको प्रभावकारी रोकथामका लागि तीव्र तथा सही परीक्षणका साथै स्वास्थ्यकर्मीहरूका लागि पर्याप्त व्यक्तिगत सुरक्षा साधनको आवश्यकता पर्ने भन्दै उनले आफूहरूले गरेको सहयोगले महामारीविरुद्ध लड्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।
स्मरणरहाेस् कोरोनाकाे राेकथाम गर्ने भ्याक्सिनको अनुसन्धान तथा विकासका लागि १० करोड युआन सहयोग गर्ने घोषणा ज्याकमा फाउन्डेसनले गत जनवरीमै गरेको थियो।