कोरोना भाइरसको आशंकामा टेकु अस्पताल भर्ना भएका पाँच जना विदेशी नागरिकको नतिजा ‘नेगेटिभ’ देखिएको छ। पाँच जनामध्ये तीन अष्ट्रियाली, एक अमेरिकन र एक ब्रिटिस नागरिक थिए।
शुक्रबार आएको नतिजामा कसैमा पनि कोरोना नभेटिएको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले जानकारी दिए।
ब्रिटिस नागरिक भने आज दिउँसो नै अस्पतालबाट आफूखुसी निस्किएर अर्को अस्पताल पुगेका थिए। पछि फेरि टेकु अस्पताल फर्केका उनलाई अस्पतालले डिस्चार्ज गरिदिएको छ।
‘ब्रिटिस नागरिकलाई सोमबार नै आइसियूमा भर्ना गरिएको थियो,’ उनले भने ‘दोस्रो परीक्षण गर्दा पनि नतिजा नेगेटिभ आएपछि आजै डिस्चार्ज गरेका छौं।’
उनले बाँकी चार जनालाई भने बिहीबार ठमेलबाट ल्याएर भर्ना गरेको बताए। उनले भने, ‘शंकास्पद व्यक्ति छन् भन्ने खबर आएपछि उद्दार गरेर हामीले भर्ना गरेका थियौं।’
पाँचै जनालाई डिस्चार्ज गरेपछि अहिले टेकु अस्पतालको आइसोलेसन कक्ष खाली छ। टेकुमा पाँच वटा आइसोलेसन बेड छ।