कोरोना भाइरस नेपालमा भित्रिइसकेको भनेर सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियोको विषयमा नेपाल प्रहरीले अनुसन्धान थालेको छ। हाल सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियो क्लिपमा एक व्यक्तिले नेपालमा कोरोना भाइरस भित्रिइसकेको भनेका छन्।
प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापा क्षेत्रीले प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको जानकारी दिए। नेपाल प्रहरीको साइबर व्यूरोका एसएसपी नविन्द अर्यालले पनि सो अडियोबारे अनुसन्धान भइरहेको पुष्टि गरे। ‘त्यसको प्राविधिक पाटोबारे हामीले अध्ययन गरिरहेका छौं,’ उनले भने।
उनले यस्ता गलत हल्ला फैलाउने व्यक्तिलाई कारबाही हुने चेतावनी दिए। सरकारले कोरोना भाइरसबारे गलत सूचना प्रवाह नगर्न र गरेमा कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिँदै आएको छ।