कर्णाली प्रदेश सरकारले भारतका विभिन्न ठाउँमा मजदुरीका लागि गएकालाई १० दिनभित्र फर्कन आग्रह गरेको छ। कर्णालीमा कोरोनाको उच्च जोखिमबाट बच्नका लागि भारतबाट फर्किन आह्वान गरेको हो।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको विपद् व्यवस्थापन परिषद र कर्णाली प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको संयुक्त बैठकले भारतमा रोजगारीका लागि गएका नेपालीहरूका लागि सरकारले तोकेको समयमा कर्णाली फर्कन निर्देशन दिएको हो।
भारतबाट फर्केर आउने नेपालीलाई स्वास्थ्य जाँच गरी अनिवार्य क्वारेन्टाइनमा राखेर घर पठाइने तयारी गरिएको सरकारकी प्रवक्ता एवम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्।
‘प्रदेशका हरेक जिल्लामा अनिवार्य रुपमा क्वारेन्टाइन स्थापना गर्न र स्वास्थ्य परीक्षण गर्न निर्देशन दिइएको छ,’ उनले भनिन्, ‘भारतबाट फर्केर सिधै गाउँमा पुगेकालाई पनि स्थानीय स्वास्थ्य संयन्त्रमार्फत चेकजाँच गरिनेछ।’
हिमाली तथा पहाडी जिल्लामा कोरोनाको कारण कुनै बिरामीलाई तत्काल उद्धार गर्नुपर्ने अवस्थामा आएमा हेलिकोप्टर प्रयोग गरिने उनले जानकारी दिइन्।
मन्त्री केसीका अनुसार कोरोनाको प्रकोप व्यवस्थापनका लागि बैठकबाट मन्त्रीहरूको संयोजकत्वमा विभिन्न समिति पनि गठन गरिएको छ। सरकारले सामाजिक विकासमन्त्री दल रावलको संयोजकत्वमा कार्यान्वयन समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा अनुगमन समिति र उद्योग तथा पर्यटनमन्त्री नन्दसिंह बुढाको संयोजकत्वमा आपूर्ति समितिसमेत गठन गरेको प्रवक्ता केसीले बताइन्।