२०२८ सालमा यङ स्टार क्लबमा गुरु मथुरादास नेवाः सँग बक्सिङको गुण सिक्न जाँदा उहाँ सधै भन्ने गर्नु हुन्थ्यो– बुझ्यौं केटा हो, बक्सिङ खेल्नु त मोहम्मद अली जस्तै ।
त्यतिबेला मेरो अनुहारमा जुङ्गाको रेखी बस्दै थियो । घर थियो, मरुटोलमा । झोसेसँगै जोडिएको अर्को व्यस्त एरिया। जहाँ रातदिन विदेशी पर्यटक घुमिरहन्थे। झोसे ऊबेलै बदनाम थियो, गाजाका कारण। यहाँ संसारभरिका मान्छे भेटिन्थे । पर्यटकहरूको बढ्दो चापका कारणले गर्दा होला मेरो ठूलो दाजुले घरमै रेष्टुराँ पनि खोल्नु भएको थियो । त्यसैले सानैदेखि विदेशीसँग गफिने मौका पाए, मैले।
हाम्रो रेष्टुराँमा प्रायः खान आउने केही अमेरिकीले थाहा पाएछन्, म बक्सिङ पनि खेल्छु भनेर । त्यसपछि उनीहरूले मोहम्मद अलीको अलौकिक खेलको विषयमा घण्टौ चर्चा गर्थे । विदेशी पत्रपत्रिकामा प्रकासित अलीको बक्सिङ ग्लोब्स लगाएर प्रतिद्धन्द्धीलाई ढालिरहेको फोटो देखाउथेँ।
कुनै अमेरिकी पर्यटकको प्रस्तुती यति गजब हुन्थ्यो– उनीहरूको कुरा सुनेपछि लाग्थ्यो, अली मेरो शरीरमा प्रवेश गरिसके। जसको असर कहिले काहीँ ट्रेनिङमा देखिन्थ्यो । जोस्सिएर साथीलाई कुट्न जान्थे। र, रिङ्मै थचारिन्थे।
बक्सिङ खेलेको ८ बर्षपछि राष्ट्रिय टोलीमा छनोट भयाे। २०३६ सालमा तत्कालिन सोभियत संघको मस्कोमा भएको ओलम्पिक छनोट नै मेरो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। त्यतिबेला लाइट वेल्टरमा मसँग भिड्ने आँट कमैले गर्थे, नेपालमा ।
२०३७ सालमा भारतको मुम्बईमा भएको एसियन एम्एच्योर बक्सिङ च्याम्पियनसिपमा सहभागी ४४ राष्ट्रमध्ये आफ्नो तौल समूहमा कास्य जितेपछि नेपालमा पपुलर बन्न पुगे। यो पदक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली बक्सरको पहिलो थियो।
यसपछि मैले २०३७ सालमै मस्को ओलम्पिक र ४१ सालमा लस एञ्जल्स ओलम्पिक पनि खेले। अमेरिकामा भएको लस एञ्जल्स ओलम्पिकमा मोहम्मद अलीसँग भेट्ने ठूलो रहर थियो। तर, सोभियत संघ र अमेरिकाबीचको शितयुद्धका कारण प्रभावित भएको यो ओलम्पिकमा सुरक्षा ब्यवस्था यति कडा थियो। उनलाई भेट्ने त टाढाको कुरा अनुहार पनि हेर्न पाइएन्।
यसै क्रममा सन् २०४६ सालमा चौथो दक्षिण एसियाली खेलकुद (साग) पाकिस्तानको इस्लामाबादमा हुने तय भयो ।
त्यतिबेला हामी राम्रो तयारीका साथ प्रतियोगिता सुरु हुनुभन्दा २ दिनअघि इस्लामावाद पुगेका थियौ । पाकिस्तानले प्रतियोगितामा कस्तो आतिथ्य गर्दै छ, त्यो कसैलाई थाहा थिएन । झन् हामी खेलाडीलाई थाहा हुने कुरै भएन्। प्रतियोगिताको केही दिनपछि बक्सिङतर्फको खेल पनि सुरु भयो। चौथो दिन रिङमा हामी नेपाली आफ्नो बाउट खेल्न तयारीका साथ बसेका के थियौं, एकाएक खबर आयो । मोहम्मद अली आउदैछन रे ।
हामी आश्चर्यको भावमा एक–अर्काको मुख पलाक–पुलुक गरिरहेका थियौं । विश्वकै नामुद बक्सर, जसको नाम किशोर अवस्था देखि नै सुन्दै आइरहेका हामी, जसको खेल्ने शैलीलाई म सवैभन्दा बढि कपी गर्न खोज्थे । उनी हाम्रो अगाडी!
वास्तवमा मोहम्मद अली पाकिस्तान सरकारको निमन्त्रणामा विशेष अतिथीको रूपमा साग गेम्सको समापन हेर्न आएका रहेछन् । अलीले २ घण्टा धैर्यतापूर्वक सवैको खेल हेरे । खेल सकिएपछि सवै देशका खेलाडी हानिदै उनीसँग फोटो खिच्न दौडिए। एक छिनपछि मलगायत गणेश भट्टराई पनि फोटो खिच्नका लागि उनलाई अनुरोध गर्न गयौं । झोसेमा विदेशीसँग संगत गरिरहेको बानी। उनीसँग कुरा गर्न मलाई खासै गाह्रो भएन् । टाइसुटमा सजिएर सोफामा बसिरहेका अली फिल्मका कुनै नायक भन्दा कम देखिदैन्थे । मैले आग्रह गरे– तपाईसँग फोटो खिच्न इच्छुक छौ ।’
उनले पुलुक्क हेरे। र साेधे–कुन देशबाट ?
मैले भने– नेपालबाट ।
उनको उत्तर थियो– ‘राम्रो छ । ट्राइ गर । म जस्तै बन्न सक्छौ ।’
उनले हामीलाई दिएको हौसलाको केही शब्द सुनेपछि मेरो त शरीर नै फुलेर आयो । कति महान खेलाडी । उत्तिनै सरल व्यक्तित्व । कहाँ बक्सिङका महारथी मोहम्मद अली? कहाँ बक्सिङको कख सिक्दै गरेका हामी नेपाली बक्सर ? त्यही पनि उनी उठेर रिङ भएको ठाउँमा हामीसँग फोटो खिच्न आएँ।
मोहम्मद अलीसँग दोस्रो पल्ट मेरो भेट भयो, अमेरिकाको सिकागोमा। खेलकुदमा मैले गरेको योगदानका लागि २०६१ सालमा अमेरिकाको बायोग्राफिकल सोसाइटीले मलाई ‘म्यान अफ दि इयर’ अवार्डबाट सम्मान गर्यो । त्यो अवार्ड ग्रहण गर्न होनोलुलु पुगेको बेला सिकागोमा मोहम्मद अलीसँग पुनः भेट्ने मौका जुर्यो ।
त्यतिबेला अवार्ड ग्रहण गरिसकेपछि केही दिनका लागि सिकागोमा गाउँले भाई राजु रंजीतको घरमा बसेको थिए । उनी सिकागोको चर्चित होटल रोजबर्ड स्टेकहाउसमा काम गर्थे । एकदिन घरमा भने– दाजु। मोहम्मद अलीलाई भेट्ने होइन् । उनी हाम्रो होटलमा आएका छन् ।
यो सुनेर म उत्तेजित भइहाले । भने– किन नभेट्ने । त्यति महान व्यक्तित्वलाई ।
हामी होटल पुग्दा बाहिर भीड जम्मा हुन थालिसकेको रहेछ । सुरक्षाको कडा बन्दोबस्त । सुरक्षाकर्मीले सवैलाई बाहिरै रोकेर राखेका थिए । तर, म भने रंजीत भाईको कृपाले होटलमा प्रवेश गर्न सफल भएँ । होटल भित्र पनि उनको अनुहार हेर्न प्रभावशाली व्यक्तिहरूको भीड जम्मा भइसकेको रहेछ । सुरक्षाकर्मीले हामीलाई होटलको लबीमा लगेर राखे । यसको केही समयपछि मोहम्मद अली त्यही आइपुगे ।
निकै जीर्ण । उनको जीऊ र हात कामिरहेको थियो । २ जना बडिगार्डको सहयोगले उनी लबिसम्म आइपुगेका थिए।
१५ बर्ष अगाडि इस्लामाबादमा भेट्दा त्यति तगडा देखिएका अलीलाई सिकागोमा देखेपछि मनै अमिलो भएर आयो । म पुरै भावुक भएँ । भक्कानीन मन लाग्यो । त्यही पनि आफूलाई सम्हाले । र, उनलाई भने– ‘म तपाईको ठूलो प्रसंसक हूँ। नेपालबाट आएको । २ वटा ओलम्पिक खेलेको छु ।’
पार्किन्सन रोगबाट थलिएका अलीले हल्लीरहेको टाउको उचाले । र, मतर्फ यसो हेरे । तर, कुनै प्रतिक्रिया जनाएनन् । म मात्र होइन, लबिमा उपस्थित कसैको कुरामा पनि उनले प्रतिक्रिया जनाएनन् । ७ मिनेट छोटो बसाइँपछि उनले उठ्ने बेला सवैलाई भने– ‘मलाई भेट्न आउनु भएकोमा धन्यवाद ।’
उनलाई भेटेर होटलबाहिर निस्किदा म चकित भएँ । त्यहाँ उनको अनुहार हेर्न यति ठूलो भीड जम्मा भइसकेको थियो। सुरक्षाकर्मीलाई त्यहाँको अवस्था आफ्नो नियन्त्रणमा राख्न धौ–धौ परिरहेको थियो । खेल जीवन छोडेको त्यत्रो बर्ष बितिसक्दा पनि उनी प्रति अमेरिकीले मात्र होइन, विश्वले नै देखाएको श्रद्धा देखेर म निशब्द भए। वास्तवमै महान खेलाडी थिए, माेहम्मद अली।
(पूर्व ओलम्पिन बक्सर मास्केसँग नवीन अर्यालले गरेकाे कुराकानी।)