तपाईं यो लेख पढ्दै हुनुहुन्छ भने तपाईंको कोरोना भाइरसको कारण मृत्यु हुने सम्भावना अत्यन्तै न्यून छ। आजको मानवको सबैभन्दा बलियो शक्ति भनेको सूचना हो। त्यसमा विश्वास गरेर दृढ ईच्छाशक्ति बनायौ भने हामी त्यसैको बलमा बॉंच्नेछौं।
तथ्याङ्क, विज्ञान, र सूचनाको अभावमा सदियौंदेखि मान्छे देवी-देउताको आशमा वा दैंत्यको त्रासमा बॉंचेका हुन। महामारी आइपर्दा मानवले प्रायः क्रोधित देवतालाई, द्वेषयुक्त राक्षसलाई, वा पापको कारणले भनी बिरामीलाई नै पनि दोष दिन्थे। उनीहरूमा ब्याक्टेरिया र भाइरसको अस्तित्वको बारेमा जानकारी थिएन। देवी-देउता सन्त्याउन धेरै मान्छे एकैठाउँमा जमघट भई पूजाआजा गर्ने गर्थे, जसबाट यी रोगजन्य ब्याक्टेरिया र भाइरसलाई फैलिन झनै मदत पुग्थ्यो। यसरी करोडौंको ज्यान एकैपटक जाने गर्थ्यो। १४औं शताव्दीमा पूर्वी एसियाबाट पश्चिमी युरोपमा ब्ल्याक डेथ फैलिंदा झण्डै एक दशकमा २० करोड़ मान्छेको ज्यान लिएको थियो।
यतिबेला हाम्रो मानव सभ्यताको परीक्षण भैरहेको जस्तो भान हुंदैछ। तर, मानव सभ्यता धेरै अगाडि बढिसकेको छ। अहिले हाम्रा चर्च, मन्दिर, गुम्वा र मस्जिदले पनि “सोसल डिस्टेन्सिङ” अपनाएका छन। अनलाईन प्रार्थना गरिरहेका छन्। यो गजबको कुरा हो।
अस्तिको टाइम म्यागेजिनमा एक प्रसिद्ध इतिहासकार युवाल हरारीले लेख्नुभयो: “मानवताले महामारीबिरूद्धको युद्ध जितेको छ किनकि भाइरस र डाक्टरबीचको घमासानमा भाइरस अन्धा उत्परिवर्तनमा निर्भर हुन्छन् जबकि डाक्टर सूचनाको वैज्ञानिक विश्लेषणमा भर पर्छन्।” यो कोरोना भाइरसको प्रकृतिको बारेमा तीब्र रुपमा जानकारी संकलन भैरहेको छ। यसको भ्याक्सिन र उपचारको पनि निरन्तर प्रयोग भैरहेको छ। जेनेटिक्स अध्ययनले वैज्ञानिकलाई रोगजन्य अणुको प्रकृति र नालिबेली बुझ्न सक्षम बनाएको छ।
मध्ययुगका मानिसले कहिलै 'ब्ल्याक डेथ'को कारण पत्ता लगाउन सकेनन् तर आजका वैज्ञानिकले यो नोभल-कोरोना भाइरस पत्ता लगाउन केवल दुई हप्ता लगाए, यसको जिनोम अनुक्रम गरे र विश्वसनीय परीक्षणको विकास गरी संक्रमित मानिसलाई पहिचान गर्ने तरिका पहिल्याई हाले। बॉंच्ने आशा कहॉं छ त ?, भन्दा सरकाले साधन-स्रोत छुट्टाइदिएका छन्। बैज्ञानिक त्यसको प्रयोग गरिरहेका छन्।
सार्वजनिक संघ-संस्था मानवीय उद्धारमा जुटेका छन्। विभिन्न समुदायका व्यक्तिलाई पर्ने आर्थिक सामाजिक परिणामबाट पनि बचाउने प्रयत्न भैरहेको छ। कोरोना भाइरसविरुद्ध लड्दा रोजगारी गुमाउनेहरुलाई पनि सरकारहरुले हेर्न रकम छुट्याउने प्रण गरेका छन। सूचनाको प्रवाह भैरहेको छ। केहि समय गाह्रो हुनेछ तर हामीले यो युद्ध जित्नेछौं।
अहिलेसम्म पत्ता लागेको सबैभन्दा महत्वपूर्ण तथ्य के हो भने यो काेराेना भाइरस मुख्यत: तीन तत्व- आरएनए, प्राेटिन र लिपिड (एक प्रकारकाे बाेसाे) मिलेर बनेकाे अति सुक्ष्म अणु हो। यसकाे वाहिरी आवरणमा लिपिड (बाेसाे) हुन्छ, जसले यसको सुरक्षाकवचको काम गर्छ, हाम्राे छालाजस्तै। यदि हाम्रो हातमा केहिगरी बोसो लागेमा हामीले साबुन लगाएर जसरी मिचेर पखाल्न सक्छौं, यो कोरोनालाई पनि त्यसरी नै नष्ट गर्न सावुनकै प्रयाेग गरे हुनेरैछ। सावुन पानीले हात धुँदा काेराेना भाइरसकाे बाहिरकाे बोसाेले बनेकाे आवरण ध्वस्त हुन्छ। त्यही भएर यसका विज्ञहरूले सावुन पानीले हात धुनु भनेकाे हाे। ६०% भन्दा बढी अल्काेहल भएका सेनिटाइजरले पनि यस्तै काम गर्छ तर, सावुन जतिकाे प्रभावकारी हुँदैन त्यसैले सावुन उपलब्ध छ र प्रयाेग गर्न मिल्छ भने सावुन पानीले हात धुनु नै उत्तम उपाय हाे। साबुन पानीले मिचेर २० सेकेण्ड हात पखाल्यौं भने कोरोना भाइरस मर्छ। र, हामीले हाम्रो जीवन जिउँन पाउँछौं ।
हामीले मानवीय गुण, धर्म र कर्तव्यलाई केन्द्रमा राखेर विज्ञानलाई विश्वास गर्ने र सूचनाको भरपर्ने हो हामी जस्तोसुकै महामारीमाथि पनि सजिलै विजय हासिल गर्न सक्छौं। तर, विज्ञानमा विशवास नगर्ने र भ्रममा रमाउने हो भने हाम्रो हार निश्चित छ। यही पृष्ठभूमीमा हामीले कोरोना भाइरसलाई हेर्ने हो भने यो एक किसिमको मानवताको परीक्षा पनि हो। हामी सबै जिम्मेवार भयौं भने महामारीबिरूद्धको यो युद्ध मानवताले जित्ने निश्चित छ।
अर्को पत्ता लागिसकेको महत्वपूर्ण कुरा के हो भने कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्यु गर्दा निस्कने छिटाबाट फैलिन्छ। त्यसैकारण मान्छेको जमघटलाई निरुत्साहित गरिएको हो। एक व्यक्ति र अर्को व्यक्तिबीच कम्तिमा ५-६ फीटको दूरी राख्ने सुझाव अर्थात् “सोसल डिस्टेन्सिङ” पनि मूलत: यसैका लागि हो।
विश्व स्वास्थ्य संगठनका बैज्ञानिकले दिएको अर्को महत्वपूर्ण जानकारी के पनि छ भने हातले ऑंखा, नाक, मुख छुँदा यो भाइरस सजिलै हाम्रो शरीरभित्र प्रवेश गर्न सक्छ। त्यसैले उनीहरू भनिरहेका छन्, हातले मुख नछुने अभ्यास गरौं। गत महिना मैले मेरो विश्वविद्यालयको महासभाको बैठकको सभापतित्व गर्दा पहिलो एक मिनेट एउटा धैर्यता-गेम खेलाएको थिएँ - एक मिनेटसम्म कसैले पनि आफ्नो अनुहार नछुने। यो काम सजिलो छैन। तपाईं पनि आफ्नो परिवारसँगै बस्दा यो गेम खेल्न सक्नु हुन्छ।जसले अनुहार छुन्छ, उसैले भॉंडा माझ्ने। यो खेल रमाइलो छ। मैले धेरैपटक भाँडा माझिसकेको छु। अब त बानी पनि परिसक्यो तर खुशीको कुरा के भने भॉंडा माझ्दा आफ्नो हात पनि मज्जैले धोइन्छ। त्यो मुले कोरोना भाइरसको पनि त बिजोग हुन्छ - साबुनको प्रहारले त्यो बिचरो ऐया र आत्था गर्दै कहॉं पुग्छ कहाँ ! जे होस, खोक्दा वा हाँच्छ्यु गर्दा सके टिस्यु पेपर, नभए आफ्नो हातको कुहिनोभित्र गर्ने, हत्केलामा नगर्ने, खुल्ला पनि नछोड्ने गर्नुपर्ने रहेछ। यदि आफुलाई बिरामी महसुस भएको छ भने चाहिं घरमै बस्ने सुझाव दिइएको छ। ज्वरो, खोकीको साथै श्वास फेर्न गाह्रो भएमा अस्पताललाई पहिला फ़ोनबाट जानकारी गराउने, अनि मात्र अस्पताल जाने सुझाव पनि दिइएको छ।
विश्व स्वास्थ्य संगठनका बैज्ञानिकले दिएको अर्को महत्वपूर्ण जानकारी के छ भने विश्वसनीय स्रोतबाट आउने सूचनाबाट हामीहरु सुसूचित रहनुपर्छ। यी सूचनाका आधारमा हामीले सावधानी अपनाउने हो भने यो कोरोना भाइरसले हामीबाट छिट्टै बिदा लिने छ। हामीले ख़ालि मानवता बिर्सनु हुँदैन। आजको मानवको सबैभन्दा बलियो शक्ति भनेको सूचना हो। हामी यसैको बलमा बॉंच्नेछौं। एक-अर्काबाट टाढा बस्नुपर्ने बाध्यताको बीचमा यतिबेला मानवताको पनि परीक्षण भैरहेको छ। हामी सबै जिम्मेवार भयौं भने महामारीबिरूद्धको यो युद्ध मानवताले जित्ने निश्चित छ।