सागमा नेपाललाई ऐतिहासिक सफलता दिलाउने खेलाडीले प्रधानमन्त्रीद्वारा घोषित पुरस्कार नै पाएनन्

खेलाडी भन्छन्– विदेशीलाई हराएर पदक ल्याउनभन्दा आफ्नै सरकारले घोषणा गरेको पुरस्कार पाउन गाह्रो भयो

दीपेन्द्र गुरुङ

१३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई ऐतिहासिक सफलता दिलाएर वाहवाही पाएका खेलाडी अहिले पुरस्कार रकमका लागि धाइरहेका छन् । प्रतियोगिता सकिएको भोलिपल्ट बालुवाटार बोलाएर प्रधानमन्त्री केपी ओलीले नगद पुरस्कार घोषणा गरेका थिए । तर, सो पुरस्कार चार महिनासम्म नपाउँदा खेलाडी निराश छन् ।

२४ मंसिरमा सम्पन्न सागमा नेपाली खेलाडीले अहिलेसम्मकै सर्वाधिक अर्थात् ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य पदक जितेका थिए । अर्को दिन सम्पूर्ण पदक विजेतालाई प्रधानमन्त्रीले सम्मानका लागि बालुवाटार बोलाएका थिए । ओलीले चार स्वर्ण जितेकी पौडीकी गौरिका सिंह र दुई–दुई स्वर्ण जितेका करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङलाई दायाँ–बायाँ राखेर पुरस्कार राशि घोषणा गरेका थिए । त्यसपछि खेलाडीहरू राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयको चक्कर लगाइरहेका छन् । तर, अहिलेसम्म आश्वासन मात्र पाइरहेका छन् । 

प्रधानमन्त्रीले व्यक्तिगत विधातर्फ स्वर्ण पदक विजेतालाई जनही नौ लाख, रजत विजेतालाई जनही ६ लाख र कांस्य विजेतालाई जनही तीन लाख दिने घोषणा गरेका थिए । त्यस्तै, एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीले जनही ११ लाख पाउने घोषणा प्रधानमन्त्रीले गरेका थिए । प्रधानमन्त्रीको घोषणाअनुसार गौरिका एक्लैले स्वर्णबाट मात्रै ४४ लाख तथा मण्डेकाजी, आयशा र सुवासले जनही २२ लाख पाउनेछन् । कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीका लागि घोषणा गरिएको यो अहिलेसम्मकै ठूलो पुरस्कार राशि हो । 

‘प्रधानमन्त्रीज्यूले हामीलाई ढिलोमा एक महिनाभित्रै पुरस्कार दिइसक्ने भन्नुभएको थियो,’ १३औँ सागको करातेतर्फ दुई स्वर्ण पदक जितेका मण्डेकाजी श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘हामीले त्यो पुरस्कार रकम अहिलेसम्म पाएका छैनौँ । सिनियर खेलाडी भएको नाताले अन्य भाइबहिनीले पनि मलाई सोध्छन्, म अरू खेलकुद पदाधिकारीलाई सोध्छु । पाउँछौ भन्ने आश्वासन मात्रै आउँछ, रकम आउँदैन । यसले सबैलाई निराश बनाएको छ ।’ 

प्रकाशित मिति: : 2020-03-19 04:38:05

प्रतिकृया दिनुहोस्