काेराेना भाइरस : २४ घण्टामा ८ सयभन्दा धेरैले गुमाए ज्यान

एजेन्सी

काठमाडाै‌ं

 कोरोना भाइरस अर्थात कोभिड–१९ को सङ्क्रमण अहिलेसम्म एक सय ६५ देशमा पुगिसकेको छ। कोरोनाको केन्द्रबिन्दु चीनमा नियन्त्रण हुँदै गइरहेको सङ्क्रमण चीनबाहिर भने तीव्र रुपमा फैलिरहेको छ। 

चीनबाहिर पछिल्लो २४ घण्टामा आठ सय तीन जनाको ज्यान गएको छ भने १५ हजार सात सय ४० जना नयाँ सङ्क्रमित थपिएका छन्। 

इटलीमा  पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय २६ जनामा सङ्क्रमण देखिएकोमा तीन सय ४५ जनाको ज्यान गएको छ। भाइरसका कारण इटलीमा ज्यान गुमाउनेको सङ्ख्या दुई हजार पाँच सय तीन पुगेको छ। भाइरसको सङ्क्रमण देखिएका ३१ हजार पाँच सय ६ जनामध्ये झण्डै तीन हजार जना उपचारपछि निको भएका छन्। 

इरानमा पनि पछिल्लो २४ घण्टामा एक सय ३५ जनाको ज्यान गएको छ। इरानमा भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ९ सय ८८ पुगेको छ।  

एक लाख ९८ हजारभन्दा धेरै मानिसमा सङ्क्रमण पुष्टि भएकोमा साढे ८१ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका छन्। सात हजार ९ सय ६५ जनाको ज्यान गइसकेको छ।

इटली, इरान, स्पेन, फ्रान्स, अमेरिका, दक्षिण कोरिया, बेलायत, नेदरल्याण्ड, स्विजरल्याड, जर्मनी लगायतका देशहरुमा सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ। 

चीनमा पछिल्लो २४ घण्टामा कसैमा पनि सङ्क्रमण देखिएको छैन र ज्यान गुमाउनेको सङ्ख्या पनि बढेको छैन। कोरोनाका कारण चीनमा अहिलेसम्म तीन हजार दुई सय २६ जनाको ज्यान गएको छ।

सङ्क्रमण देखिएका ८० हजार आठ सय १ मध्ये ६ हजार सात सय २४ जना उपचारपछि घर फर्किएका छन्। त्यस्तै उपचार गराइरहेका आठ हजार ९ सय ३१ जनामध्ये तीन हजार दुई सय २६ जनाको अवस्था गम्भीर छ। 

प्रकाशित मिति: : 2020-03-18 20:03:08

प्रतिकृया दिनुहोस्