हो म ‘भूमि’ नभएकी भिमसरा हुँ (भिडियाे)

अछुत कोपिला

काठमाडाै‌ं

गन्धर्व–२

उफ.......! गर्मी शुरु भयो, मलाई डर लाग्न थालिसक्यो। यहाँको ४३ डिग्री तापक्रममा ओत लाग्ने गतिलो र भरपर्दो छहारी छैन। धर्ती ओछ्यान छ। छानो आकाश छ, वर्षौदेखि। यस्तै कठ्याङ्ग्रीदो चिसो, प्रचण्ड गर्मी, हावाहुरी, बाढी आदि बेहेरी व्यवहारिरहेकी छु। प्रत्येक साल भय, त्रासमै वित्छ। हावाहुरी, गर्मी, शितलहर अनि एकसरो कपडामा दैनिकी गुजार्दै जोवन गैजान लाग्यो। खरले छाएको घरको भर छैन। 

जहाँ जान्छु, टहारा बनाउँदै, बस्दै आइरहेकी छु। काम गरौं रोजगारी छैन। व्यवसाय गरौं, जमिन टुंक्रो छैन। लागनी जुट्ने ठाउँ छैन। श्रीमानले बजाउने सारंगीले पनि कमाउन छाड्यो। नाम त मेरो भिमसरा हो। तर म ‘भूमि’ नभएकी भिमसरा हुँ। अर्थात भिमसरा गन्धर्व। दाङमा जन्मिएकि हुँ। अहिले कोहलपुर नगरपालिका ११ गन्धर्व टोलमा बसिरहेकी छु। उमेर पचास कटिसक्यो। घरमा तीन छोरा बुहारी, श्रीमान र नातिनातिनी छन्।

मेरो खासखुस परिचय यही हो। अब म तपाईंहरुलाई मेरो जिन्दगीको कथा सुनाउँछु। जंगली च्याउ खाएर मेरो घरका तीन जना मरे, २०५३ सालमा। त्यसबेलाको मेरो हालत कसैलाई शब्दमा बताउन सक्दिन। त्यसपछिको मेरो जिन्दगी दुस्खको पर्यायवाची छ भन्दा फरक पर्दैन। 

पछि बुढाबुढी सुर्खेत माइतमा गयौं। करिब १५ वर्ष सुर्खेतमा अस्थायी रुपमा जिन्दगी बित्यो। हुन त स्थाई जिन्दगी नै कहाँ छ र मेरो। हालको गुर्भाकोटमा बसे। माइतीले सानो कटेरो दिएका थिए। बुढाले सारंगी बजाउथे। म घरमा बालबच्चाको हेरचाह गर्थे। धान, मकै, चामल दिन्थे त्यसैले जिन्दगी चलिरहेको थियो। 

जनयुद्ध भर्खर शुरु भएकोले पनि टाढा जाने अवस्था थिएन। युद्धमा कसले कस्ता अनुभुती भोगे तर हाम्रो त सारंगी बजाएर आउने अन्न नै रोकियो। आमाबुवाको मृत्युपछि सुर्खेत छोडेर कोहलपुर आयौं। यो  २०६३ तिरको कुरा हो। गनेर भन्दा १३ वर्ष वितिसके। 

‘अरुलाई के जाति चिन्ता, घरज्वाईंलाई खानाको चिन्ता’ भने झैं गन्धर्वको उही समस्या पनि घरज्वाईंको जस्तै छ। यी १३ वर्षमा १४ ठाउँमा टहरा सार्‍यौं, अझै कति ठाउँ सर्नुपर्ने हो, थाहा छैन। लाग्छ यो त हाम्रो नियमिता हो। लाग्छ भावीले पनि यस्तै लेखेको होला। पहिलो पटक सालको बुटा, पछि न्युरोड, मन्दिर बस्यौं। सर्दासर्दै २०७० सालमा डुडुवा नालामा पुग्यौं।

२०७१ सालमा आएको बाढीले सबै सर्वनास गर्‍यो। खाने, लाउने, बस्ने, भाँडाकुडा सबै बाढीले बगायो, तीन जना त बच्चा पनि बगाएको थियो। जे होस् उनीहरुलाई बचाइयो। धेरै युवाहरु भारतमा कमाउन गएका थिए। वृद्धवृद्धा र महिला मात्रै थियौं। त्यो बाढी सम्झिदाँ अहिले पनि जिउ सिरिङ्ग हुन्छ। मन भारी हुन्छ। (लामो सा तान्दै) जंगलबाट काठ ल्याएर कटेरा बनाइ जसोतसो बस्यौं। 
 
आम्दानीको स्रोत केही पनि छैन। के खाने के लाउने निकै समस्या छ। छोराहरु कोही इन्डिया जान्छन्। 

हामी महिलाको दैनिकी चल्ने भनेको श्रीमानले बजाएको सारंगीको कमाइ र छोराहरुले इन्डियाबाट कमाएर ल्याएको रुपैयाँले हो। पहिले पहिले कुखुराका चल्ला पाल्थ्यौं अलिअलि कमाइ हुन्थ्यो, अहिले त त्यो पनि छैन। सक्या दिन ढ्यारी (मजदुरी)गरेर खान्थ्यौं। हामी बजारमा जाँदा हेप्छन्। ज्याला राम्रो दिदैनन्। गन्धर्वका महिला भनेपछि नराम्रो सोच्छन्। घरबाट बाहिर निस्कनु नै कुनाउ गर्नु हो। यहाँ आर्थिक अवस्था कमजोर भएका महिला नराम्रा काम पनि गर्छन्। के गर्नु  भोको पेट भर्नको लागि त्यस्तो पेसामा (यौन व्यवसायलाई संकेत गर्दै) लाग्नुपर्छ। यहाँ बाध्यतालाई नबुझी मान्छे नराम्रो सोच्छन्। हामी त्यस्तो काम नगर्नेहरुलाई बाँच्न झन् गाह्रो।  

अहिले महिनावारीका कुरा गर्छन्। कोही मरे भन्छन्। हामी महिलालाई जहाँ भएपनि गाह्रो छ। हुन त हामी छुई मान्नैनौं। छुइ नमानेर के गर्नु, जिन्दगी त सँधैको लागि छुई मानेजस्तै छ।

अहिले त उमेर पनि गइसक्यो। ढ्यारी गरेर खान सकिने अवस्था छैन। हामीले सक्ने काम पाइदैन। काम पाइयो भने पनि दया गर्नेले ५ सय रुपैयाँ सम्म दिन्छन्। अरु ३ सय रुपैयाँ सम्म दिन्छन्। ज्याला भन्दा बढी वचन खानुपर्छ। यस्तै हो। 

कुल दश जनाको परिवार छ। जेठो र माइलो छोराका परिवार छुट्टै बस्छन्। हामी दुवै बुढा भयौं। छोराहरु पनि सहयोग गर्दैनन्। उनीहरुको अवस्था पनि गतिलो छैन। पढेलेखेको भए जागिरे हुन्थे। जमिन आफ्नो नाममा छैन। आफै दिनभर हड्डी खियाउँछन्, पुग्दैन। हामी के आशा गर्नु। अहिलेसम्म भर सारंगीकै हो। 
 
सिंहदरबार आयो, महिला अधिकार आयो भन्छन् । राष्ट्रपति पनि महिला छन्,भन्छन्। हामीलाई केही थाहा छैन। सबैको लागि आएको होला अधिकार। हाम्रो लागि त ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै छ। हामी त डुब्न लागेको घाम जस्तै छौं। हाम्रा छोराछोरालाई रोजगारी कसले दिनु रु प्रधानमन्त्री रोजगार कार्यालय, मुख्यमन्त्री रोजगार कार्यक्रम, मेयर रोजगार कार्यक्रम भनेर रेडियोले फुकेको सुन्छौं। कस्ता रोजगार कार्यक्रम हुन रु कसलाई काम लाग्ने हुन केही थाहा छैन। तर हामीलाई काम लाग्ने केही छैन। 

हाम्रा त मेर्ने दिन आइसके। अब त छोराछोरीले पनि उस्तै दुस्ख भेग्ने हुन जस्तो लाग्छ। हामी बसेको ठाउँको लालपूर्जा त महाभारत भइसक्यो। एक टुक्रा जमिन भएपनि अरुसँग माग्नु पर्दैनथ्यो, जस्तो लाग्छ। अरुको भरमा परेर पनि नहुने। खान लाउन नपुग्ने सारंगीले जमिन किन्न नसक्ने। यतिका संघ संस्थाहरु छन्। तर हाम्रो बस्तीमा कहिल्यै आउँदैनन्। हुन त अरुको आश पनि के गर्नुरु

मैले पढ्न पाइन। जन्मदै आर्थिक अवस्था कमजोर थियो। मेरा छोराछोरीले स्कूलको मुख देखेनन्। देखेनन के भन्नू देखाउन सकिएन। अरु गन्धर्वहरुको पनि समस्या हाम्रो जस्तै छ। कहिलेकाहीँ त लाग्छ गन्दर्भ र समस्या उस्तै हुन। 

आर्थिक अवस्था कमजोर हुनु, बस्ने स्थायी बासस्थान नहुनु र शैक्षिक जागरण नहुनु हाम्रा समस्या हुन। तर सरकार पनि हाम्रा समस्या समाधान गर्दैन।  समस्या हाम्रा भएपनि कमजोरी सरकारको छ। 

गन्धर्व महिलाहरुमा आफ्नो स्वास्थ्य प्रति राम्रो चेतना छैन। सानो उमेरमा विवाह हुने र स्वास्थ्यको राम्रो ख्याल नगर्ने भएकोले थुप्रै खोले रोगले सताइरहेको छ। रोग पनि हामीलाई नै छानौछानी लाग्छ।

पुरुषहरु दमका रोगी छन्। मेरा बुढा पनि दमका रोगी छन्। आजभोली उनी सारंगी रेटेर गाउँन समेत सक्दैनन्। सारंगी बाहेक विकल्प छैन। यहाँ हरेक महिलाका कथा आफ्नै किसिमका छन्। समस्याको चाँङमाथि चलेको जिन्दगीको पैया कहाँसम्म पुग्छ हेरौं।

याे पनि
‘कस्तो होला रेडियोमा सुनिने सिंहदरबार?’
सारंगीसँगै रेटिएका ‘वीरबहादुर’ (भिडियोसहित)
 

प्रकाशित मिति: : 2020-03-18 22:09:00

प्रतिकृया दिनुहोस्