कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। पुनर्वास नगरपालिका–८ का ६३ वर्षीय सफली बयाडीले ६० वर्षीया श्रीमती खन्जरी बयाडीलाई लाठी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ।
मदिरा सेवनले लट्ठ भएका सफली बयाडीले आइतबार राती ९ बजे तिर श्रीमतीसँग विवाद गरि टाउकोमा लाठी प्रहार गरेर घाइते बनाएको बुहारी बाटु बयाडीले उजुरी दिएकी छिन्।
श्रीमानको कुटाइबाट घाइते भएकी खन्जरीलाई उपचारको लागि पुनर्वासकै स्थानीय पोलिक्लिनिकमा लगिएकोमा प्राथमिक उपचार पछि धनगढी रेफर गरिएको थियो । धनगढीमा समेत उनको उपचार सम्भव नहुँदा नेपालगञ्ज लगिएको थियो ।
नेपालगञ्जमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।
घटनापश्चात् घटनास्थल पुगेको प्रहरी टोलीले कुटपिट गरेको आरोप लागेका सफलीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिहले बताए।
मृतक खन्जरीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको छ ।