टिपरले आमाछोरीको ज्यान लिएपछि पनौती तनावग्रस्त, मंगलबार बिहानदेखि कर्फ्यू

काभ्रेको पनौतीमा कर्फ्यू लागेको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले पनौती बजारमा अर्को आदेश नभएसम्मका लागि मंगलबार बिहान ९ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यू लगाएको छ।

सोमबार साँझ पनौतीको बसपार्कनजिकै बनेपाबाट पनौतीतर्फ जाँदै गरेको टिपरको ठक्कर दिँदा खानीखोला गाउँपालिका- १ की ३३ वर्षीया जुनीमाया गोले र उनकी तीन वर्षीया छोरी स्मारिका गोलेको ज्यान गएको थियो।

घटनापछि मृतकका आफन्त र स्थानीयले प्रदर्शन गरेका थिए।

उत्तेजित भीडले तोडफोड र आगजनी गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।  पनौती क्षेत्र तनावग्रस्त भएको थियो।

यसैबीच मंगलबार बिहान पनि प्रदर्शन हुने अवस्था देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू लगाएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सेनाले जानकारी दिए।

करिब साँढे चार बजे बा ५ ख ५४८० नम्बरको टिपरले आमाछोरीलाई ठक्कर दिएको थियो । ठक्करबाट सख्त घाईते हुनुभएको उहाँहरुलाई शिरमेमोरियल अस्पताल बनेपा लगिएको थियो । तर डाक्टरले आमा छोरीलाई नै मृत घोषणा गरेको थियो । सयौको सख्यामा रहेका आन्दोलनकारीहरुले टिपरको दादागिरी बन्द गर, मान्छे मार्न पाईदैन, चालकलाई कारवाही गर लगायतका नारा लगाइरहेका छन । प्रहरीले चालक नवराज थापा र टिपरलाई नियन्त्रणमा लिएको जनाएको छ ।

मृतक गोलेका श्रीमान् छिरिङ लामा वैदेशिक रोजगारको सिलसिलामा दुई वर्षदेखि मलेसियामा छन्।

प्रकाशित मिति: : 2020-03-17 23:07:25

प्रतिकृया दिनुहोस्