कोरोना भाइरसको संक्रमणबाट बच्न अहिले नमस्ते संसारभर लोकप्रिय हुँदै गएको छ। नेपालमा पनि महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नमस्कार’ अभियान शुरु गरेको छ ।
ट्राफिक नियम उल्लङ्घन गर्नेलगायत अन्य सेवाग्राहीलाई सम्मानको लागि ‘नमस्कार’ अभियान शुरु गरेको हो।
सडकमा तैनाथ ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्ने चालकलाई कारवाही गर्नुभन्दा पहिले नमस्कार गर्नेछन्। त्यसपछि आवश्यकताअनुसार कानुन कार्यान्वयनका लागि कारवाही गर्ने महाशाखाले जनाएको छ।
‘ट्राफिक कार्यालय र ट्राफिक प्रहरीहरूको सम्पर्कमा आउने सबै नागरिकहरूलाई नमस्कार शब्द प्रयोग गरिने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताए।
‘आत्मीयता र सम्मान समेत प्रकट होस् भनेर नमस्कार शुरूवात गरका हौं’, उनले भने, ‘नेपालीको परम्परा नै हो, नयाँ कुरो होइन तर यसलाई पुनर्जागरण गर्न सके एकआपसमा श्रद्धासमेत बढ्नेछ।’