कीर्तिपुरबाट चोभार जाने बाटोमा दाँया मोडिएपछि केही दृष्टिविहिन किशोरी चहलपहल गरेको देखिन्छन्। घरबाहिरको आँगनमा कोही मस्त पढिरहेका भेटिन्छन् भने कोही आफ्नै धुनमा गुन्गुनाई रहेका देखिन्छन्।
६–७ किशोरीको भीडमा एउटी महिला उनीहरूलाई अनेकन चुट्किला, गीत सुनाइरहेकी हुन्छिन्। वरिपरि सबै झुम्मिएर मस्तसँग हाँसिरहेका हुन्छन्। मानौ उनी नै ती दृष्टिविहिनकी आमा हुन्।
पुष्पा क्षेत्री, ३४। चिटिक्क मिलेको शरीर, लामो कपाल, गोलो अनुहार र मुसुस्क हासेर बोल्ने उनको स्वभाव। २०४२ मा परासीको बर्दघाटमा जन्मिएकी पुष्पाको बाल्यकाल सुःखसयलमा बित्यो। उनी लाहुरेकी छोरी थिईन्।
पुष्पाको घरमा आमा, दाई, दिदी र बहिनी थिए। उमेर बढ्दै जाँदा छिमेकी अकंलले बिहेको कुरा ल्याएका थिए। बिहे गर्ने केटा बुटवलमा रहेको आम्दा हस्पिटलको बस चलाउँथे भने उनको आमा हस्पिटलमा जापानीजहरूलाई खाना पकाएर खुवाउने गर्थिन्।
आम्दा हस्पिटल जापानीको सहयोगमा खोलिएको हो। विशेष गरि बालबालिकाका लागि निकै रामो मानिन्छ।
२०६० सालमा उनले खेमबहादुर सापकोटासँग पुष्पाको बिहे भयो। बुटवलको भुट्कीचोकमा रहेको घरमा सासु र श्रीमान मात्र बसोबास गर्थे। श्रीमान एक्लो छोरा थिए, त्यसैले अलि पुलपुलिएका थिए। पैसा राम्र्रै कमाउँथे। बिहे भएको ४ वर्षसम्म उनीहरूको सम्बन्ध निकै राम्रो थियो।
तर, श्रीमानले कमाएको सबै पैसा रक्सिमा उडाए। श्रीमानको बढ्दो रक्सिको आदतले घरमा तनाव सुरु भयो। श्रीमान रक्सि पिएर घरमा आएपछि विभिन्न किसिमका अपशब्द बोल्थे। उनलाई गाली गर्थे।
तैपनि श्रीमानलाई कहिल्यै जवाफ फर्काईनन्। भन्छिन्–‘काखमा सानी छोरी थिई। त्यहि भएर जे गरेपनि सहन्थे। दिन बित्दै गए। श्रीमानको यातना पनि बढ्दै गयो।’
अति भएपछि एकदिन उनले घर छोड्ने निदो गरिन्। ‘सरला घिमिरेको सहयोगमा २०६८ सालमा म काठमाडौ आए। एउटा संस्थामा काम गर्न थाले।’
उनी ४ वर्षकी सानी छोरीलाई कोखमा च्यापेर दृष्टिविहिन किशोरीहरूको सेवा गर्थिन। उनले सेवा गरिरहेकी दृष्टिविहिन किशोरीहरू आर्थिक रुपमा विपन्न र विभिन्न हिंसामा परेका थिए। उनीहरूको सहयोगको लागि सञ्चालित संस्थामा काम गर्न थालेपनि पुष्पाको जिन्दगीले नयाँ मोड लिएको छ।
‘वास्तवमा म यहाँ आएपछि सम्हालिए,’ उनले भनिन्। दृष्टिविहिन किशोरीको पिडा सुन्न थालेपछि उनलाई आफ्नो दःुख सामान्य लाग्न थाल्यो। उनी बिस्तारै आफ्नो पिडा बिर्सेर उनीहरूको दःुखको साथी बन्न थालिन्।
लालिगुँरास होस्टेलमा कसैलाई सानो चोट लाग्यो भने पुष्पा सबैभन्दा पहिला रुन थाल्छिन् र दगुराउदै अस्पताल पुर्याउँछिन्। ‘मलाई यिनीहरू पनि आफ्नो सन्तान जस्तै लाग्छ,’ उनी भन्छिन्। ७ जनै दृष्टिविहिन आ–आफ्नो रोजाईको खानेकुरा खान खोज्छन्। पुष्पा कति पनि झर्को नमानी उनीहरूको रोजाईअनुसार खाजा पकाएर खुवाउँछिन्।
यतिबेला उनी आफूमात्र खुशी छैनन्, छोरीलाई समेत आँखा नदेख्ने दिदीबहिनीको पिडाको साक्षी बनाएकी छिन्। ‘आँखा नदेख्ने दिदीले त यति मन लगाएर पढ्छन् भने मैले पनि पढ्नु पर्छ भन्ने भावना छोरीमा पनि आएको छ,’ उनले भनिन्।
कक्षा ७ मा पढ्ने उनकी छोरीले होस्टलमा बस्ने दिदीलाई देखेर आफ्नो काम आफै गर्नुपर्छ भन्ने गतिलो शिक्षा समेत दिएको छ।
पुष्पालाई सधै दुःख दिने श्रीमानको रक्सिकै कूलतका कारण २०७४ मा निधन भयो। आर्थिक तथा मानसिक रूपमा श्रीमानबाट कुनै सहयोग भने कहिल्यै पनि पाएकी थिइनन्। तर, हिजोसम्म भाउजु भनेर सम्वोधन गर्नेहरूले नराम्रो दृष्टिकोणले हेर्न खोज्दा मुटु चसक्क हुने उनी बताउँछिन्। भन्छिन्–‘पुरुषको दुव्र्यवहारबाट बच्न पनि राता चुरा लगाएर हिड्न थालेकी छु।’
उनको छोरीको इच्छा छ, ठूलो भएपछि विमान परिचारिका बन्ने। अहिले उनी छोरीको त्यही अभियान पुरा गर्न रातदिन नभनी काम गरिरहेकी छिन्।