कञ्चनपुरको शुक्लाफाँट नगरपालिका-११ मा बुवा र सौतेनी आमाकाे हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आमा बुवाको हत्या गरेको आरोपमा पक्राउ गरेका छोरा भरत भण्डारीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।
उनले फागुन १५ गते ५२ वर्षीय बुबा जयबहादुर भण्डारी र २२ वर्षीया सौतेनी आमा धनाको हत्या गरेको अभियोग छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलका अनुसार उनलाई प्रहरीले जुगेनामा आइतबार नै पक्राउ गरेको हो।
प्रहरीका अनुसार अंश विवादका कारण भरतले बुबा र सौतेनी आमाको हत्या गरेको भन्ने बयान दिएको छ। भण्डारी दम्पती र छोराबिच लामो समयदेखि सम्पतिको विषयमा घरायसी विवाद रहेको स्थानीयले बताएका छन्।
भण्डारीले जेठी श्रीमतीको मृत्यु भएपछि धनालाई दुई वर्ष अघि मात्र कान्छी श्रीमतीको रुपमा भित्र्याएका थिए। प्रहरीले उनीविरुद्द कर्तव्य ज्यानसम्बन्धि कसूरमा मुद्दा दर्ता गरेर थप अनुसन्धान थालेको जनाएको छ।