विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानवमा परीक्षण हुन लागेको छ।
परीक्षण गर्न लागिएको mRNA-1273 भ्याक्सीनलाई मोडेर्ना नाम गरेको निर्माताले बनाएका हुन्। नयाँ परीक्षण सोमबार सीयाटलको काइसर पर्मानन्ट वाशिङ्टन हेल्थ रिसर्च इन्स्टिट्यूटमा हुनेछ।
अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागेको यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुँदैछन्। ती स्वयंसेवीहरूले सङ्क्रमित नभईकनै खोपका विभिन्न मात्रा लिनेछन्।
उक्त खोपमा वास्तविक कोरोना भाइरसको कुनै अंश छैन। त्यसमा मेसिन्जर आरएनएको सानो भाग भएको बताइएको छ।
बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकहरूको योजना छ।