बालुवाटार फर्केपछि प्रधानमन्त्री ओलीका तीन मुख्य भेट्घाट

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको अघिल्लो दिन फागुन २० गते राति ९ बजे शिक्षण अस्पताल पुगेका प्रचण्ड त्यसपछि जान भ्याएका थिएनन् । बरु प्रचण्ड केही दिनअघि राप्रपा नेताका सन्तानको विवाहमा सहभागी हुन चितवन पुगेका थिए । 

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला पुनः प्रत्यारोपण गरी बालुवाटार फर्केपछि नेकपाको जम्मा तीन वटा भेटघाट गरेका छन्। 

प्रधानमन्त्री ओलीले शुक्रबार उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठसहित आफ्ना सल्लाहकारहरू, सचिवालयका सदस्यहरूसँग छलफल गरेका थिए। शनिबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटघाट गरे। 

नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड शनिबार बिहान ११ बजेतिर बालुवाटार पुगेका थिए। प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको अघिल्लो दिन फागुन २० गते राति ९ बजे शिक्षण अस्पताल पुगेका प्रचण्ड त्यसपछि जान भ्याएका थिएनन्। बरु प्रचण्ड केही दिनअघि राप्रपा नेताका सन्तानको विवाहमा सहभागी हुन चितवन पुगेका थिए। 

प्रचण्ड फर्केको केहीबेरपछि वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। ‘दुवै नेतासँग प्रधानमन्त्रीको स्वास्थ्यबारे कुराकानी भएको थियो’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भेटघाटबारे भने, ‘मिर्गौला प्रत्यारोपण सफल भएकोमा बधाइ दिनुभयो।’

वरिष्ठ नेता नेपाल भने बीच–बीचमा अस्पताल गएर चिकित्सकसँग भेटी प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। प्रचण्ड भने मिर्गौला प्रत्यारोपणपछि पहिलोचोटी गएका थिए। 

कोरोना उपचार गर्ने अस्पतालबारे चासो
प्रधानमन्त्री ओलीले अस्पतालबाट फर्केलगत्तै शुक्रबार उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठसहित आफ्ना सल्लाहकारहरू, सचिवालयका सदस्यहरूसँग छलफल गरेका थिए। 

छलफलमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्वाथ्यमन्त्री भानुभक्त ढकाल, प्रमुख राजनीतिक सल्लाहकार, प्रेस सल्लाहकार, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, स्वकीय सचिवहरू होम थापा, राजेश बज्राचार्य पनि थिए। उक्त भेटघाटमा पिताजी मोहनप्रसाद ओली पनि साथमै थिए। 

प्रेस सल्लाहकार थापाका अनुसार, प्रधानमन्त्री ओलीले उपप्रम एवम् रक्षामन्त्री पोखरेललाई भने, ‘१०० सैइयासम्मको अस्पताल कुनै आइसोलेटेड ठाउँमा वा भीड नहुने ठाउँमा लगेर भए पनि कोरोना केन्द्रित गर्नुपर्यो।’ उपप्रम पोखरेलले भने आफ्नो नेतृत्वमा रहेको कोरोना निर्देशक समितिले अहिले गरिरहेको कामबारे बताएका थिए। 

प्रम उक्त छलफलमा ओलीले मोदीको भिडियो कन्फरेन्सको प्रस्तावबारे कुरा गर्दै त्यसको प्रगतिबारे चासो राखेका थिए। कोरोना भाइरसबारे संयुक्त भिडियो कन्फरेन्स आइतबार हुने भएको छ। ‘यो सार्कको पुनः सक्रियताका लागि महत्वपूर्ण हुनसक्छ’, प्रधानमन्त्री ओलीको विश्लेषण थियो।

उक्त भेटमा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीलाई  पूर्ण स्वस्थ नहुञ्जेल सावधानी अपनाउन आग्रह गरेका थिए। प्रधानमन्त्री ओलीको जवाफ थियो, ‘म पूर्ण स्वस्थ भइसकेँ। डाक्टरहरुले आइसोलेसनमा राख्नुभो। पूर्ण स्वस्थ भएपछि मात्र डिस्चार्ज गर्नुभएकोे हो।’

प्रकाशित मिति: : 2020-03-15 06:43:09

प्रतिकृया दिनुहोस्