काट्न खोजेँ आफ्नै घाँटी

हेमन्त विवश

काठमाडौं

केही शोभा हरिण शिशुका नृत्य सञ्चारमा छ 
केही शोभा वन कुसुमका स्वच्छ संसारमा छ
केही शोभा शरद ऋतुका चन्द्र उद्यानमा छ
सब्बै शोभा नव युवतीका मन्द मुस्कानमा छ
                    –मुकुन्दशरण उपाध्याय

कार्तिकको पहिलो साता। जुम्लाका जिउलाहरूमा धान काट्ने काम सिद्धिसकेको थियो। शरदको सुन्दर बिहानीमा दुलही सिगारिएझैं देखिन्थ्यो जुम्ला सदरमुकाम –शान्त, शालिन र रमणीय। माथि डाँडामा टल्किरहेको गुम्बा तल बजार छेउमै बाबा चन्दन नाथको मन्दिर। नजिकै दखिने जुम्ल्याहा डाँडाले चौकिदारी गरिरहे जस्तो। 

पहिलो पटक जुम्लाका कलाकारहरूले सदरमुकाममा देखाउन थालेको नाटक हेर्न निकै नै उत्साहित थिए महेश नेपाली। यहाँका कलाकाहरूले आफ्नो अभिनय कला देखाइसकेका थिए – सडक नाटकदेखि नेपालको गुरुकुलसम्म। तर जिल्लाका अधिकांश कलाकारहरू एउटै मञ्चमा देखापरेर देखाउन थालेको त्यो पहिलो नाटक थियो गोविन्द सुनारद्वारा निर्देशित पम्फापूmल। जहाँ आमाको भूमिकामा देखापरेकी थिएइन चन्दननाथ नगरपालिका १ की भावना बुढा। ३९ वर्षिया भावनाको अभिनय कला प्रसंसनीय थियो। सानैदेखि कलाक्षेत्रमा रुचि राख्ने उनको नाम पनि व्यक्तित्व सुहाउँदो नै छ। 

त्याग र संघर्षका साथै  श्रृष्टिको सुन्दरता बढाउने  अर्को नाम पनि हो नारीको। त्यसैले शिरानीमा राखिएका पंक्तीहरू गनगुनाउन मन लाग्छ। सब्बै शोभा नव युवतीका मन्द मुस्कानमा छ

हाँस्ने वाला छैन् कर्णाली, त्यहाँका महिलाहरूको मुहारमा मुस्कान नछाएसम्म। देखिदैन मुस्कान कर्णालीका नारीहरूका मुहारमा। हाँस्न बिर्सेजस्ता देखिन्छन् अधिकांश महिलाहरू। पुरुष मस्तराम देखिन्छन्। सारा कामको बोझ जति थुपारिन्छ महिलाहरूमाथि। यस क्षेत्रका नारीहरूले दुःख र पीडाका भारी बोकेर गरिरहिन् उकाली ओराली। अन्धविश्वासी समाजमा पुरुषहरूको हैकमवादी सोचले गर्दा जिन्दगीरुपी पछ्यौरीको कुनो च्यातेरै भए पनि बेरिरहिन् दुःखका घाउमा। बढाइरहिन् संघर्षका पाइलाहरू। गाइरहिन् जिन्दगीका डेउडा। चालिरहिन् डेढ पैतली। पुरुषप्रधान समाजको सोचले हेरिरह्यो उनीहरूलाई केवल दासीका रुपमा। यहाँका महिलाहरू पिल्सिए पुरुषबादी सोचाइका साथै धार्मिक कट्टरता बोकेका पाखण्डी पण्डितहरूका कारण। 

जीवन जिउने क्रममा भावनाको यात्रामा नआएका हैनन् अवरोधहरू। नखोजेकी हैनन् यो धर्तीबाट बिदा लिन पनि। समयका घुम्तीहरू बद्लिदै गए। उनीभित्र सकारात्म सोच र आशाका किरणहरूले बास पाउन थाले।  सानैदेखि अभिनय कलामा रुचि भएकी भावनाले यो क्षेत्रमा पाइला टेकेको जम्मा ६ वर्ष भयो। उहिलेको भन्दा निकै परिवर्तित छ अहिलेको समाज तर पनि घरबाट एक्लै बाहिर निस्किदा कहाँ गई, कोलाई भेट्न गइ जस्ता नानाथरी कुरा काट्न थालिहाल्छन्। ६ वर्ष पहिले सडक नाटक खेल्न पाइला अघि बढाइन उनले। आनन्द अधिकारी, तोरण कठायतलाई गुरु नै ठानिन्। उनीहरूसँगको संंगतले सिकिन् नाटकमा अभिनय गर्दा अपनाउनु पर्ने आधारभूत कुराहरू। 

उनी ३ वर्षकी छदा उनका वुवाले अर्को बिहे गरेछन्। ‘बुवा पुलिसका हवलदार कान्छी लगेर हुम्लातिर गई बसेपछि घरमा ससाना छोराछोरी पाल्न निकै दुःख भोग्नु पर्‍यो आमाले। हामीलाई दुई छाक खान र दुई अक्षर पढाउन दाउरा बेच्नेदेखि दिनभर अरुकै काममा व्यस्तरहनु पर्‍यो। आमा भोकप्यासको वास्तै नगरी खटिइन काममा’–उनले विगत सुनाइन्। २०५५ सालमा ८ कक्षा पढ्दै गर्दा महिला प्रहरीमा भर्ना खुलेपछि उनी लागिन् त्यतैतिर। अञ्चल प्रहरी कार्यालयमै थियो दरबन्दी। ०५९÷०६० तिर सङ्ंकटकाल लागु भएपछि निकै नै गाह्रो हुन थालेछ जागिर खान। उनकै कारण दुःख पाइरहेका थिए माइतिले पनि। एकातिर वरपरका डाँडातिर बम पड्किएको आवाज ठोक्किन्थ्यो कानमा। सुत्न नपाइने, बम्परभित्र जानु पर्ने हुन्थ्यो। छोरा छोरी सानै थिए त्यतिबेला। अर्कातिर उनी पुलिस भएकै कारण माइति घरबाट उनका भाइलाई समेत अपहरण गरेर लगेछन् माओवादीले। अनि बाध्य भएर छोडिछन् जागिर। 

१८ वर्षको उमेरमा सँगै काम गर्ने जवानसँग मन मिलेपछि प्रेम बिबाह गरिछन्। तर त्यो धेरै वर्ष टिकेनछ। बिभिन्न कारणले गर्दा मनमुटाव बढ्दै जान थालेछ। एक दिन बुढाबुढीको झगडा हुँदा जिन्दगीदेखि नै दिक्क लागेर मर्न खोजिछन्। त्यो घटना सम्झिएर रसाएका थिए एकछिन उनका परेली। ‘यसो हेर्दा सामुन्नेमा ब्लेड देखेँ। त्यही बोकेर गएँ शैचालय। काट्न खोजेँ आफ्नै घाँटी। छालासम्म काटीएर रगत बग्न थाल्दा लोग्नेले शैचालयको ढोका फोडेर निकाले बहिर’–भावुक मुद्रामा सुनाइन उनले।  दिनदिनैको झगडा र मनमुटावले निकास खोजेरै छोडेछ। २०६३ सालमा कानुनी प्रक्रियामा गई गरेछन् दुबैले डिभोर्स। र बस्न थालिछन् माइतिमा। उता श्रीमानले अर्को बिहे गरेछन्। भावना माइतिमै बसेर सानो किराना पसल चलाएर जुजारा गर्न थालिन्। यसैबाट हुने कमाइले आफ्ना छोरा र छोरीलाई पढाइरहेकी छन्। दुबै जना कक्षा १२मा अध्ययनरत छन्। 

‘माइतिमासँगै बस्न पाएकी छु। भाइ बुहारी दुबै जागिरे छन्। सहयोग गर्छन्, माया गर्छन्। बुवा छुट्टिएर कान्छी आमासँगै बस्नु हुन्छ। भाइले जागिर खाएपछि पक्की घर पनि बनाएको छ। सबै जना सुखी छन् खुसी छन्’–बोल्दाबोल्दै रोकिइन् उनी  । लाग्थ्यो उनको सम्झनामा घुमिरहेको थियो विगत। चिन्तित बनाइरहेको थियो भविष्यको कल्पनाले। उनी अझै सम्पतिको लागि लडिरहेकी रहिछन्। घरबाट केही नपाएको गुनासो छ उनको। सासू ससुरा, देवर, नन्द आमाजु, सबै जना आइरहन्छ रे भेट्न। बोलाइरहन्छन् रे घरमा। तर उनलाई जान मन लाग्दैन अब त्यो घरमा। 

सडक नाटक खेल्नेक्रममा गुरुकुलसम्म पुगेकी भावना केन्द्रीयस्तरमै नाटकमा चिनिन चाहन्छिन्। यो क्षेत्रप्रति उनको लगाव छ। तर सोचे जस्तो कहाँ हुन्थ्यो र जिन्दगी। नाटक खेलेर आउँदैन पैसा। गुजरा चलाउनै मुस्किल छ नाटकमा अभिनय गरेर।  छोराछोरी पनि पढाउनै पर्‍यो। भने जस्तो सोचेजस्तो सजिलो कहाँ छ र जिन्दगी। जिन्दगीमा आइपर्ने यस्तै खाले समस्याले चिन्तित तुल्याउछ उनलाई। तर पनि प्रगतिशील अनि संघर्षशील पाइलाहरू थाकेका छैनन् उनका। 

मध्य तथा सुदूरपश्चिममा महिनावारी हुँदा ७ दिनसम्म  दिदैनन् पानी छुन। थान बनाएको घरमा त झनै जान दिन्नन्। तर उनी कसैलाई थाहा नदिलाई त्यो पिरियडमा वर्जित गरिएको स्थानमा समेत पुगेकी थिइन् कुनै दिन। उनलाई भएन समाजले भनेजस्तो केही पनि। उनी सुनाउछिन् – ‘सामान्य केही हुँदा कतै त्यही कारणले हो कि भनिदिन्छन्। मनै त हो अनि प्रश्न उब्जिन थाल्छ मनमा कतै हो कि त ? यस्तो खाले मनोबिज्ञानले पनि बनाइरहेछ महिलाहरूलाई कमजोर। महिलाले नै कामको बोझ उठाइरहेकी हुन्छिन्। यसलाई कामको बोझ बढी छ मैले सहयोग गरिदिनु पर्छ भन्ने भावना छैन। के बेस्सरी बिमारी भएर ओछ्यानमै ढल्नु पर्‍यो हैन भने अलिअलि बिरामीको त कही हिसाब नै हुँदैन। जसरी नि गर्नु पर्छ काम। भात पकाउनै पर्‍यो। लुगा धुनै पर्‍यो।’ 

उनका अनुसार उहिले गोठमा गाउँदागाउँदै केटाले जितेपछि केटीलाई तानेरै लग्थे रे। तर ती तिनै पुरुष हुन्, जो आफुले दोहरीमा हार्दा जुरुक्क उठेर सुटुक्क हिँडे। तिनका लागि बनेन् कुनै नियम। किनकी समाजमा जेजति राम्रा नराम्रा चलनहरू स्थापित भए सबै पुरुषकै कारण भए। त्यसैले त केही सीप नचलेपछि पहिलेपहिले भावनाहरू रित्याइरहन्थे आँखाका आँसु र शान्त हुन्थे एकछिनलाई। कैयौं भावनाहरूलाई रातदिन रुने बनाइरहेकैछ समाजले अहिले पनि।  

‘कर्णाली दुर्गम छ। कर्णालीका मान्छे असभ्य छन्। कर्णालीमा भिंmगा कति हुन् कति। कति फोहरी यहाँका मान्छे’– कर्णाली घुमेर फर्किनेहरू मध्ये केहीले सुनाएका उद्गार थिए यी। देखेनन् तिनले विकटताभित्रको सुन्दरता। पढेनन् बुझेनन् तिनले कर्णालीको सभ्यता। मनन् गरेनन् तिनले नेपालको सिंहदरवारका जस्ता मुटु कलेजो नै सिद्धाउने झिंगा कर्णालीमा छैनन् भन्ने कुरा। देशको दोहन गर्ने झिगाहरू कर्णालीमा छैनन् भन्ने कुरा। कतिपय बिकासे संस्थाका रिपोर्टरहरू पुगे त्यहाँ। तिनले चामल बाँडे। चाउचाउ बाडे। बिस्कुट बाडे। मैला लुगामा उत्रिएका केही केटाकेटी देखे। निन्याउरो अनुहार लगाउँदै किनारतिर लजाइरहेका महिलाहरू देखे। तर देखेनन् कहिल्यै तिनले बोकेको दुःख र कष्टको भारी। तिनको संवेदना, तिनको भावना अनि तिनले गाउने ठाडी भाकाको मर्म। गीत, संगीत, कलाले पनि ठूलै भूमिका निर्वाह गर्छ समाज परिवर्तनको लागि। अँह बुझेनन् कहिल्यै पनि नेपालबाट जाने सुटेड बुटेडहरूले। चलाएनन् तारे होटेलमा अँगे्रजी भाषा फलाक्ने बिकासे कारिन्दाहरूले खसभाषाको बहस, डेउडा गीतको बहस।  

बरु दिनहुँ भोज भतेर गरिरहे क्रिश्चियन धर्मको प्रचारका लागि। बिकासे संस्थाका कमैयाहरूले भनिदिए कर्णालीबासीलाई असभ्य, पाखे र गवाँर। बुझेनन्, देखेनन् भावनाहरूको कला। तिनको शहनशिलता, संघर्ष र संवेदना। बुझ्न सकेनन् ती भीरपाखामा फुल्ने भावनाहरूको सौन्दर्य, सुवास, कला र भावनाको महत्व। भावनाहरू भावनाका पुञ्ज मात्रै नभएर स्वभिमान र अस्तित्वका सुन्दर कलश पनि हुन्।

प्रकाशित मिति: : 2020-03-16 22:45:00

प्रतिकृया दिनुहोस्