अमेरिकामा राष्ट्रिय संकटकाल लागु गरिएको छ। राष्ट्रपति ट्रम्पले शुक्रबार पूर्वी समयअनुसार अपराहन् ३:३० बजे ह्वाइटहाउसमा एक पत्रकार सम्मेलन आयोजना गरी राष्ट्रिय संकटकालको घोषणा गरेका हुन्।
विश्वको एक मात्र महाशक्ति राष्ट्र अमेरिकाले यो घोषणा कोरोना भाइरस संक्रमणका कारण गरेको हो। झट्ट सुन्दा पत्यार नलागे पनि यो सत्य हो कि कोरोनाले अमेरिकी जनजीवन अस्तव्यस्त बनाइसकेको छ।
सुरूमा चीनको समस्या भनेर पन्छिएका राष्ट्रपति ट्रम्प आफैं संक्रमणको शंकामा परेपछि यो निर्णय गर्न बाध्य भएका हुन्। उनीसँग हात मिलाएका मानिसहरू कोरोना भाइरस संक्रमित भएर क्वारेन्टाइनमा गैसके पनि उनी सेल्फ क्वारेन्टाइनमा नगएर जोरजुलुम गरिरहेका छन्।
अमेरिकामा संकटकाल लागु गरिएको छ। विश्वको एक मात्र महाशक्ति राष्ट्र अमेरिका कोरोना कहरका कारण संकटकाल भोग्न बाध्य भएको हो। राष्ट्रपति ट्रम्प स्वयं पनि कोरोना संक्रमित हुनसक्ने सम्भावना देखिएपछि उनी यो घोषणा गर्न बाध्य भएका हुन्।
यो घोषणासँगै उनले कोरोनासँग जुघ्न ५० बिलियन अमेरिकी डलरको प्रकोप राहत कोष सञ्चालन गर्न पाउँने भएका छन्। अमेरिकीहरू यो कोषको कसरी उपयोग हुन्छ, हेरिरहेका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरससँग जुध्न लिएको रणनीति खासै सफल भएको देखिएको छैन। उनले लिएका निर्णयहरू एकपछि अर्को गरेर कोरोना भाइरस प्रकोपसँग पराजित भैरहेका छन्।
उनका आलोचकहरू ट्रम्पकै गलत नीतिका कारण अमेरिकामा कोरोना संकट निम्तिएको आरोप लगाउँछन्। उनीसँग अमेरिकालाई एकीकृत गरेर यो लडाई लड्ने रणकौशल देखिएको छैन। यस्तो जटील अवस्थामा पनि उनी अमेरिकी कंग्रेससँग सहकार्यको हात बढाउन राजी छैनन् ।
अमेरिकामा पहिलो कोरोना भाइरस संक्रमित विरामी भेटिएको दुई सातामै ४१ जनाको ज्यान गैसकेको छ भने दुई हजार ४५ जना संक्रमित भएको पुष्टी भैसकेको छ। कोरोना भाइरस अब राजधानी वासिङ्टन डीसीसहित ४८ राज्यमा फैलिसकेको छ।