रुपा क्षेत्री, ५०। बुटवलस्थित दिपनगरकी स्थायीवासिन्दा। जसका २० वर्ष कटेका तीन छोरा भारतमा बसोबास गर्छन। श्रीमान पनि जिवितै छन्। उतै बस्छन्। तर, उनी भने ७० वर्ष कटेकी बुढी आमा र भाईबुहारीसँग एकल महिलाको पहिचान बनाएर आफ्नै जन्मभूमिमा जीवन गुजार्न विवश हुनुपरेको छ।
रुपाको जन्म २०२६ सालमा भएको थियो, परिवारको पहिलो सन्तानको रूपमा। ६ जना त भाई नै थिए। एक जना बहिनी गरी १० जनाको परिवार थियो। बुवा गेस्ट हाउसमा काम गर्थे। सुरुमा सरकारी जागिरे थिए। तर, कतै नटिक्ने उनको स्वभाव। यसै कारण सानोमा बुवासँगै बुटवल, पाल्पा र पोखरालगायत विभिन्न शहरमा घुम्दैँ उनको आधा जीवन कट्यो। आर्थिक कठिनाईका कारण उनले राम्रोसँग पढ्न पनि पाइनन्।
यसै क्रममा २०४४ सालमा उनको बिहे आफ्नै भाईको साथीसँग भयो। उनको श्रीमान पदम भारतमा रोजगारीका लागि धेरै अगाडि नेपाल छोडेर गएका थिए। कुराकानीका क्रममा उनले आफू भारतस्थित बेलायती दुतावासमा काम गर्छु भन्थे। केटो लक्का जवान थियो। फेरि जागिर पनि राम्रो ठाउँमा गर्छु भनेपछि उनीहरू बीच प्रेम भयो। र, भेटेको तीन दिनमै परिवारले टिकोटालो गरेर छोरीलाई बिदा गर्यो।
बिहे लगत्तै भारतको जालन्धर पुगेकी रुपा त्यति बेला रूखको हागोबाट खसे झैं भईन, जब उनलाई आफ्नो श्रीमानको सत्य कुरा थाहा भयो। उनको श्रीमानले एक वर्षअगाडी नै जागिर छोडिसकेका रहेछन्।
फेरि लोग्ने ‘रक्सी’ को अम्मली नै रहेछ। नियमित काम नगर्ने। एक महिना काम गर्यो, त्यसबाट आएको पैसाले तीन महिना जाँड धाेकेर बस्ने।
बुटवलमा सामान्य परिवारमा हुर्किएकी रुपाले बिहेपछि आफ्नो भविष्य पनि परिवर्तन हुने सोचेकी थिइन। तर, उनलाई बिरानो देशमा झन् ठूलो बज्रपात पर्यो। उनले आफ्नो पेट मात्र होइन, लोग्नेको पेट पाल्नका लागि पनि मजदुरी गर्नु पर्यो। त्यो पनि अर्काको घरको जुठोभाडा माझेर।
वर्ष बित्दै जाँदा तीन वटा छोराको आमा बनिन्। अब सन्तान हुर्काउन उनलाई झन् धाै धौ पर्यो। उनी एकपछि अर्को गर्दै ४–५ वटा घरमा भाडा माझ्ने काममा तल्लिन रहिन्।
लोग्ने कहिले रिक्सा चलाउँथे त कहिले चप्पल फ्याक्ट्रिमा मजदुरी गर्थे। तर, कमाएको पैसा रक्सिमै रित्याउँथे। लोग्नेले सुख नदिएपनि छोराहरूले भविष्यमा आफूलाई हेर्छन भनेर उनले धेरै नै दुःख गरिन्।
अहिले जेठो छोरा ३० वर्ष पुगिसकेको छ। माइलोको उमेर २६ वर्ष हो भने कान्छो नै २२ वर्षमा टेकिसकेको छ। यी तीन वटै छोराहरूले न राम्रोसँग अध्ययन गरे, न जागिर नै खाए। आमाले भाडा माझेर ल्याएको पैसामा उनीहरूको रजाई हुन थालेपछि संसारीक माया ममताबाट दिक्क लागेर उनी २०७३ सालमा माइत फर्किइन्। त्यस यता उनी भाईबुहारीको सहारामा आफूलाई जन्मदिने आमासँग बसोबास गर्दै आइरहेकी छिन्।
उनले घरतर्फ सबै नाता तोडिसकेकी छिन। ‘मैले परिवारका लागि के गरिन्? जुठो भाडा माझे। छोराहरूलाई पढाउन बिहानदेखि भाडाबर्तन माझ्थे। कोही काम लागेनन्,’ केही समयअघि बुटवलमा भेटिएकी रुपाले निरास हुँदै भनिन्–‘अति भएपछि घर छोड्ने निर्णयमा पुगेँ।’
नेपाल फर्किनुअघि रुपा २ वर्ष आफ्नो काका–काकी बसोबास गर्ने जालन्धर नजिकैको शहर चण्डीगढमा पनि बसिन्। तर, आमाकै सल्लाह अनुसार नेपाल फर्किइन्।
‘न बुढाले वास्ता गर्थे, न छोराहरूले। आमा जस्तो पनि नगर्ने। त्यही भएर मन मर्यो,’ उनले विगत सुनाइन्, ‘कोठा छोड्ने बेला मुटु फुट्ला जस्तो भएको थियो। घरको अघिल्लो गल्ली पुग्दा पनि फर्किफर्कि हेरेको थिए, छोराहरूले नजाऊ आमा भन्छ की भनेर। तर, अहँ कसैले वास्ता गरेनन्।’
रुपालाई अहिले परिवारप्रतिको आफ्नो त्याग र समर्पण खेर गयो जस्तो लाग्छ। परिवारको उनीप्रतिको हेलाले गर्दा होला, उनलाई अर्को जीवन बाच्ने इच्छा छ। उनी अहिले पनि असल र इमान्दार केटा पाए, बिहे गर्ने सोचमा छिन्।
‘एकल जीवन बाँच्न धेरै गाह्रो रहेछ। श्रीमानसँग सम्बन्ध राम्रो छैन भन्ने थाहा पाएपछि छरछिमेकको हेर्ने दृष्टीकोणमा पनि परिवर्तन आउँदो रहेछ,’ उनले भनिन्।
सामान्यतया एकल महिला भन्नाले श्रीमानको मृत्यु भएको वा सम्बन्धबिच्छेद भएको महिलालाई बुझाउँछ। तर, पछिल्लो समय राज्यले एकल महिलाकाे परिचयलाई केही फराकिलाे बनाएकाे छ। जसमा विधुवा, अविवाहित, सम्बन्धबिच्छेद भएका, श्रीमान हराइएका र सम्बन्धबिच्छेद नभएर पनि ६–७ वर्ष बढी श्रीमानसँग अलग बसेर पारिवारीक जिम्मेवारी बहन गर्दै एकल यात्रामा हिँडेका महिलालाई लिन सकिन्छ। सन् २०११ को जनगणनाअनुसार नेपालमा ६ लाखको हाराहारीमा एकल महिला छन्।
नेपाल सरकारले एकल महिलालाई विवाह गर्न कानुनी रुपमा बन्देज लगाएको छैन। तर, रुढिवादी सोचभएको समाजमा खुलेआम बिहे गर्न धेरै गाह्रो छ।
शहरका मानिस केही शिक्षित भएका कारण एकल महिलालाई बुझने र सोच्ने तौरतरिका अलि फरक पाउन सकिन्छ। गाँउ समाजमा एकल महिलालाई हेर्ने दृष्टिकोण अहिले पनि नकारात्मक नै छ। आफ्नै परिवारले पनि चाँडपर्व, विवाह, पुजाआजा, मेलापर्व र धार्मिक स्थलमा जानसमेत बन्देज लगाएको समाचार कहिले काहीँ विभिन्न सञ्चारमाध्यममा पढ्न र सुन्न पाइन्छ।
एकल पुरुषलाई भने त्यति असहज छैन। पदमले एउटा असल बुबाको भुमिका निर्वाह गर्न नसक्दा रुपा र उनका छोराको भविष्य लथालिङ्ग भयो। यस्तो अवस्थामा रुपाकाे मनाेदशा के हाेला? यो सहजै अनुमान लगाउने विषय हाे।