लमजङको बेँसीशहर नगरपालिका– ३ मा सञ्चालित काउलेपानी घरवास (होमस्टे) मा आउने पर्यटकलाई रोक लगाउन थालिएको छ।
चीनको उहानबाट सुरु भएको कोरोना भाइरसको त्रासले रोकथामका लागि केही दिन पर्यटकलाई रोक लगाउन थालिएको ग्रामीण काउलेपानी होमस्टे व्यवस्थापन समितिले जनाएको छ।
‘होमस्टेमा आउनका लागी विभिन्न जिल्लाबाट दर्ता (बुकिङ) गरेका थिए तर कोरोनाको डरले नआउनलाई आग्रह गर्दै बुकिङ रद्द गरेका हौं’ व्यवस्थापन समितिका सचिव कविन्द्र गुरुङले भने।
कोरोनाको जोखिमलाई ध्यान दिँदै घरवासमा पर्यटक रोक्न थालिएको व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङको भनाइ छ।
भाइरसको त्रास नहटुञ्जेलसम्म काउलेपानी घरवासमा आउने पर्यटकलाई रोक लगाइने समितीले जनाएको छ। शाहवंशीय राजाको उद्गमस्थल लमजुङ दरबार नजिकै रहेको सो घरवासमा नेवार, गुरुङ, भुजेल समुदायको बसोबास रहेको छ।
ती समुदायका काउलेपानीमा २५ घरधुरी रहेको छ। उक्त घरधुरीमध्ये तीनवटै समुदाय गरी १५ वटा घरमा घरवास सञ्चालनमा रहेको छ। समुन्द्री सतहबाट एक हजार ६०० मिटर उचाइमा रहेको काउलेपानी सन् २०११ बाट घरवास शुरु भएको थियो। घरवासमा दैनिक सयौँको सङ्ख्यामा पर्यटकको भीड लाग्ने गर्दछ।