नेपालले मार्च १४ को राति १२ बजेदेखि लागु हुनेगरी अन अराइभल भिसा नदिने निर्णय गरेको छ। यो प्रावधान अप्रिल ३० सम्म लागु हुने छ।
यसअगाडि नै भिसा लिइसकेकाको हकमा भने नेपाल आइपुग्ने मितिभन्दा बढीमा ७ दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र अध्यागमन कार्यालयमा पेश गर्नेहरूले भिसा पाउँने छन्।
सरकारले कोरोना भाइरस संक्रमणसँग जुध्न यो निर्णय गरेको हो । यो निर्णयको आशय विदेशीहरूलाई नेपाल प्रवेशमा निरूत्साहित गर्ने नै हो ।
तर, अत्यावश्यक काम परेर नेपाल आउनुपर्नेका हकमा भने सम्बन्धित मुलुक वा नजिकमा रहेका नेपाली नियोगबाट भिसा लिन सकिने छ। तर, त्यसका लागि नेपाल आइपुग्ने मितिभन्दा बढीमा ७ दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्रसहितको आवेदन दिनुपर्ने छ।
नयाँ व्यवस्थाअनुसार मार्च १४ पछि नेपाल प्रवेश गर्ने विदेशीले १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ।
यसैगरी तेश्रो मुलुकका नागरिकलाई स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न दिइदै आएको सुविधा पनि १४ मार्च राति १२ बजेदेखि लागु हुनेगरी ३० अप्रिलसम्मका लागि स्थगित गरिएको छ।