जिल्ला प्रहरी कार्यालय उदयपुरले गोप्य सूचनाका आधारमा भूमीगत नेत्रविक्रम चन्द समूहका उदयपुर जिल्ला इञ्चार्ज तथा सेक्रेटरीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा गढी गाउँपालिका–४ अँधेरी बस्ने वर्ष ४४ का जीतबहादुर पुलामी मगर रहेका छन्।
पुलामी मगर स्थानीय चित्रबहादुर मगरको घरमा लुकीछिपी बसिरहेको गोप्य सूचनाका आधारमा प्रहरीको टोलीले सम्बन्धित स्थानमा गएर आज उनलाई पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए।
पक्राउ परेका मगरलाई जिल्ला प्रहरी कार्यालयमा राखेर उनीमाथि अनुसन्धान शुरु गरिएको छ। सेक्रेटरी मगरको साथबाट तीन थान मोबाइल र केही महत्वपूर्ण कागजात प्रहरीले बरामद गरेको प्रहरीले उल्लेख गरेको छ।