युभेन्ट्स तथा पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा रहेका छन्।
युभेन्ट्सका सेन्टर ब्याक डेनियल रुगानीमा कोरोना भाईरसको सक्रमण भेटिएपछि रोनाल्डोलाई पोर्चुगलको मडेइरामा क्वारेन्टाइनमा राखिएको हो।
रोनाल्डो आफ्नो आमालाई भेट्न पोर्चुगल पुगेका थिए। रुगानीको खबरपछि उनी उत्तरी इटली जानु सट्टा आफ्नै घरमा रहेका छन्।
गत साता इन्टर मिलानविरुद्धको खेलमा युभेन्ट्सले २–० को जित हात पारेपछि टिम फोटोमा रोनाल्डो र रुगानी पनि थिए। परिक्षणको क्रममा रुगानीमा कोरोना पोजेटिभ संकेत देखिएको छ।
सामाजिक सञ्जालमा मिरालेम पिजानिकले पोष्ट गरेको उक्त फोटोमा रोनाल्डो र रुगानी दुवैले खुशी मनाइहेका थिए। रुगानीसँग भेट गरेका दुवै टिमका खेलाडीहरुले अब क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। रुगानी उक्त खेलमा बेन्चमै रहेको भएर धेरैसँग उनले भेट गरेका थिएनन्।
रोनाल्डो क्वारेन्टाइनमा रहेको समाचार पोर्चुगलका अखबारले पहिलो पृष्ठमा प्रकाशित गरेका छन्। कोरोना भाइरसको कारण इटलीमा अप्रिल ३ सम्मको लागि सम्पूर्ण खेल स्थगित गरिएको छ।
बुधबार मात्र ईटालीको सरकारले फैलदो संक्रमणलाई ध्यानमा राखेर सबै खेलकुद गतिविधि स्थगित गरेको थियो। ईटालीमा अप्रिल ३ सम्म सबै खेल गतिविधि बन्द गरिएको छ।
ईटालीमा कोरोनाका १२ हजार संक्रमित देखिएका छन्। जसमा ८ सय २७ जनाको मृत्यु भएको छ।