अन्तरवार्ता विवादपछि कंगनासँग अहमद खानले मागे माफी

निर्देशक अहमद खानले अभिनेत्री कंगना रनोटसँग माफी मागेका छन्। नवभारत टाइम्सलाई दिएको अन्तरवार्तामा खानले ‘मणिकर्णीकाः द क्वीन अफ झाँसी’लाई हिट गराउन कंगनाले भरसक कोशिस गरेको भए पनि चलचित्रबाट निर्माताहरूले ठूलो घाटा बेहोर्नुपरेको बताएका थिए।

अन्तरवार्तामा यो चलचित्र असफल भएकै कारण ‘धाकड’को निर्माण प्रक्रियासमेत बन्द भएको खानले दाबी गरेका थिए।

अहमदले माफी मागेको कुरा कंगनाकी बहिनी रंगोली चन्देलले आफ्नो ट्वीटरमार्फत् सार्वजनिक गरेकी छन्। भनाइ बिवादमा आएपछि रंगोलीले ‘मणिकर्णीका’ चलचित्रको लगानी र कमाइ समेत सार्वजनिक गरेकी छन्।

रंगोलीले खानको सो भनाइमा चलचित्रले पहिलो सातामा ४५ करोड भारू कमाएको र खान निर्देशित चलचित्रले ४९ करोडको व्यापार गरेका आँकडा प्रस्तुत गर्दै कुल १५५ करोड भारू कमाइ गरेको ‘मणिकर्णिका’ कसरी फ्लप भयो भनेर अहमदलाई प्रश्न गरेकी छन्।

उनले आफ्नो ट्वीटमा ७५ करोड भारूमा बनेको चलचित्रले भारतमा मात्रै १०२ करोड भारु कमाइ गरेको बताएकी छन्।

आफ्नो अन्तरवार्तामा विवाद भएपछि अहमदले नवभारत टाइम्सलाई दिएको अर्को अन्तरवार्तामा कंगनाको प्रशंसा गरेका छन्। सो अन्तरवार्तामा उनले कंगना ‘महिला बाघी’ र  ‘बलिउडको हिरो’ भएको बताउँदै आफू कंगनासँग काम गर्न इच्छुक रहेको बताएका छन्।

प्रकाशित मिति: : 2020-03-13 03:09:07

प्रतिकृया दिनुहोस्