युरोपका २६ राष्ट्रबाट अमेरिका प्रवेशमा रोक, बेलायतलाई भने छुट

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युरोपका २६ राष्ट्रबाट अमेरिका प्रवेश गर्न नपाइने घोषणा गरेका छन्।  

अमेरिकी पूर्वी समयअनुसार बुधबार साँंझ ९ बजे ओभल अफिसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । 

उनले बेलायतलाई भने त्यो सूचीमा समावेश गरेका छैनन् । अर्थात्, अब बेलायतबाट बाहेक कुनै पनि युरोपेली देशबाट अमेरिका प्रवेश गर्न पाइने छैन।

३० दिनका लागि लागु हुने  यो प्रतिवन्ध युरोपेली देशबाट अमेरिकामा हुने हवाई उडानमा लागु गरिएको हो। प्रतिवन्ध शुक्रबार रातिदेखि नै लागु हुने छ।

यसैबीच राष्ट्रपतिको यो भनाइले ती युरोपेली देशमा रहेका अमेरिकी नागरिक पनि फिर्ता हुन नपाउँने अर्थ लागेको भन्दै ह्वाइट हाउसले त्यसमा संशोधन गरेको छ। संशोधन अनुसार अमेरिकी नागरिक भने फर्कन पाउँने छन्।

राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई विदेशी भाइरसको संज्ञा दिदै त्यसलाई रोक्ने यो नै उत्तम उपाय भएको बताए।

अमेरिकामा कोरोना भाइरसको संक्रमण तिब्रतर रूपमा बढेपछि राष्ट्रपति ट्रम्पले यो घोषणा गरेका हुन्। कोरोना भाइरस संक्रमणको प्रभाव अमेरिकी जीवनका हरेक पक्षमा पर्न थालेपछि त्यसलाई रोक्न यो कडा कदम चालिएको बताइएको छ।

तर, राष्ट्रपति ट्रम्पका आलोचकहरूले यसको दुस्प्रभावका बारेमा अध्ययन नै नगरी हचुवाका भरमा लिइएको निर्णय भनेर यसको आलोचना गरेका छन् । 

प्रकाशित मिति: : 2020-03-12 22:27:35

प्रतिकृया दिनुहोस्