अभिभावकको आडम्बरले महँगो स्कुल छान्ने होड

आरजु देउवाको नेतृत्वमा नाफारहित संस्थाको रूपमा सञ्चालित युलेन्स स्कुलकै शुल्क चर्को

राजधानीमा सबैभन्दा महँगो शुल्क लिने विद्यालयको पंक्तिमा युलेन्सको नाम अगाडि आउँछ । तर, आश्चर्य ! यो विद्यालय ट्रस्टको रूपमा दर्ता भएर गैरनाफामूलक संस्थाको रूपमा सञ्चालित छ ।

पूर्वसांसद आरजु देउवा व्यवस्थापन समिति अध्यक्ष रहेको सो विद्यालयले कक्षा १ कै विद्यार्थीबाट मासिक ४० हजार शुल्क उठाउँछ । अनुगमन गर्ने निकायको कमजोरीको फाइदा उठाउँदै विभिन्न १७ शीर्षकमा अभिभावकबाट पैसा असुल्छ । विद्यालयले ‘ट्युसन–फी’लगायत नियमित शुल्कबाहेक उत्सव तथा कार्यक्रम, समुदायकेन्द्रित कार्यक्रम, अभिभावककेन्द्रित कार्यक्रम, मर्मतसम्भार, पत्रपत्रिका प्रकाशन, इमेल, एसएमएस अलर्टलगायत शीर्षकमा समेत पैसा असुल्छ ।

शिक्षा नियमावलीअनुसार अनुमति लिएर मात्र निजी विद्यालयले शुल्क असुल गर्न पाउँछन् । यसका लागि शैक्षिक सत्र सुरु हुनुअघि नै शुल्क प्रस्ताव गर्नुपर्छ । तर, ललितपुर महानगरपालिकाका अनुसार युलेन्स स्कुलले शुल्क असुलीका लागि अनुमति लिएको छैन । अहिले जिल्ला शिक्षा कार्यालय नभएको र शिक्षाको अधिकार पाएको स्थानीय तहले अनुगमन र कारबाही गर्न नसक्दा युलेन्सजस्ता विद्यालयले चर्को शुल्क असुलेका हुन् । 

यसअघि काठमाडौं महानगरपालिकाले शुल्क निर्धारण गरे पनि विवाद भएपछि फिर्ता लिएको थियो । धेरै र महँगा विद्यालय रहेको ललितपुर महानगरले पनि शुल्क तोकेको छैन । ललितपुर महानगरपालिकाका शिक्षा प्रमुख महेन्द्र क्षेत्रीले शुल्क निर्धारण गर्ने प्रक्रियामा रहेको बताए । 

प्रकाशित मिति: : 2020-03-12 21:43:59

प्रतिकृया दिनुहोस्