कोरोना भाइरस अर्थात ‘कोभिड १९’लाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको छ।
डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले पत्रकार सम्मेलन गर्दै कोरोनालाई विश्वव्यापी महामारीको घोषणा गरेका हुन्।
उनले कोरोनाको महामारीलाई हलुका रुपमा नलिन विश्वका सबै मुलुकलाई आग्रह गरेका छन्। उनले महामारी शब्दले मानिसमा डर उत्पन्न गराउने भएकोले जहाँ पायो त्यही प्रयोग गर्न नहुने पनि बताए। विश्वमा यस किसिमको महामारी पहिलोपटक देखिएको भन्दै उनले यो कोरोना भाइरसले नै सिर्जना गरेको जानकारी दिए।
चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमण पछिल्लो २ हप्तामा चीन बाहिर १३ गुणाले बढेकोले विश्वव्यापी महामारी घोषणा गरिएको उनले बताएका छन्।
के हो कोरोना?
वैज्ञानिकहरुका अनुसार यो नयाँ किसिमको कोरोना भाइरस हो। जुन १७ वर्षअघि महामारी जस्तै बनेर फैलिएको मार्ससँग मिल्दोजुल्दो भएको उनीहरुको ठहर छ। विश्व स्वास्थ्य संगठनका वैज्ञानिकले नयाँ कोरोना भाइरसलाई ‘कोभिड १९ ’ नाम दिएका छन्।
यसको आकारबाटै नामाकरण ‘कोरोना भाइरस’ भएको हो। जुन इलेक्ट्रोन माइक्रोस्कोपबाट यसको आकार खिच्दा यो सोलारको रुपमा देखिन्छ। सोही कारण पनि यसलाई कोरोना भाइरस भनिएको बताइन्छ।
कोरोना भाइरस प्रारम्भिक चरणमा हावाबाट सर्छ। चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट यो एकअर्कामा सर्ने गर्छ। अधिकांश संक्रमणका बेला सामान्य ‘फ्लू’ जस्तै लक्षण देखिन्छ। यसको संक्रमणबाट ज्वरो आउनु, खोकी लाग्नु, स्वासप्रस्वास छिटोछिटो हुनु, स्वास फेर्न कठिन हुँदै निमोनिया समेत हुनथाल्ने लक्षण देखिन्छ।
हाल देखिएको ‘कोभिड १९ ’को कारण सार्स र मार्स कोरोनाको लक्षणसँग मिल्छ। यद्यपि कोरोना भाइरस संक्रमणको उपचारका लागि अहिलेसम्म कुनै भ्याक्सिन वा एन्टिभाइरस उपलब्ध छैन। बरु महामारीको रुप लिनुअघि नै यसबाट बच्न शतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ।
चीनको वुहानबाट तीन महिनाअघि सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वका एक सय २३ देशमा फैलिएको छ। एक लाख २६ हजार एक सय ४१ जनामा सङ्क्रमण भइसकेको कोरोना भाइरसका कारण चार हजार ६ सय २७ जनाले ज्यान गुमाएका छन्।
६८ हजार दुई सय ४० जना उपचारपछि घर फर्किएका छन्। ५३ हजार दुई सय ७४ जना अहिले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् भने तीमध्ये पाँच हजार ९ सय ३८ जना सिकिस्त रहेका छन्।
पछिल्लो २४ घण्टामा मात्र तीन सय ३१ जनाले ज्यान गुमाएका छन् भने सात हजार एक सय ९३ जना नयाँ बिरामी भेटिएका छन्। चीनमा सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या घटिरहेको भए पनि अन्य देशमा फैलने क्रम तीव्र बनेको छ। इटली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन, जर्मरी, अमेरिकालगायतका देशमा कोरोनाको सङ्क्रमण फैलने र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ।