सरकारले भन्याे– टुटल र पठाओले भाडामा यात्रु बोके कारबाही गर्छै‌ं

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले विभिन्न प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न चेतावनी दिएको छ।

ट्याक्सी व्यवसायी तथा चालकले टुटल र पठाओलाई कानून विपरित सेवा प्रदान गर्न छुट दिइएको भन्दै बुधबार विभाग घेराउ गरेका थिए। ट्याक्सी सञ्चालकहरुको दबावमा यातायात व्यवस्था विभागले मंगलबार राती नै सूचना जारी गरेको हो।

टुटल र पठाओ नाम उल्लेख नगरी जारी भएको विज्ञप्तीमा विभागले कानूनको उल्लंघन गरी अरू प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने जानकारी दिएको छ।

विभागले कानून मिचेर सञ्चालनमा रहेका सवारीमाथि तत्कालै कारबाही थालिने पनि स्पष्ट गरेको छ। यसबाट यात्रु बोकिरहेका टुटल, पठाओलगायतका मोटरसाइकलमा यात्रु बोक्ने सेवा प्रभावित हुनेछन्।

विभागले मंसिरको ४ गते सूचना निकालेर टुटल र पठाओमा नमा उल्लेख नगरी सेवा बन्द गर्न भनेको थियो। त्यसपछि ट्राफिक प्रहरीले सडकमा टुल तथा पठाओका चालकलाई कारवाही थालेको थियो। विवाद चर्किएपछि यातायात मन्त्री बसन्त नेम्वाङले टुटल पठाओलाई नरोक्न निर्देशन दिएका थिए।

फेरि बुधबार विभागले सार्वजनिक सूचना जारी गर्दै विभिन्न प्रयोजनमा दर्ता भएका सवारीले भाडा लिएर यात्रु ओसारेको गुनासो आइरहेको भन्दै तुरुन्त त्यस्तो काम बन्द गर्न भनेको छ।

सूचनामा यातायात व्यवस्था ऐनको दफा १२ मा ‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनमा लगाउन पाइने छैन’ भन्ने व्यवस्था रहेको स्मरण गराएको छ।

यसअघि २०७५ माघमा विभागले यस्तै कारवाही थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै कारबाही रोक्न र निजी सवारीलाई भाडामा यात्रु बोक्न दिन निर्देशन दिएका थिए। 

प्रकाशित मिति: : 2020-03-12 01:20:34

प्रतिकृया दिनुहोस्