अमेरिकामा कोरोना भाइरसबाट ३० को मृत्यु, सक्रमितको संख्या नाघ्यो हजार 

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

अमेरिकामा कोरोना भाइरस सक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।मृत्यु हुनेमा २४ जना वासिङ्टन राज्यका छन् भने क्यालिफोर्निया र फ्लोरिडामा दुईदुई जना र न्युजर्सी र साउथ डकोटामा एक-एकजना रहेका छन्।  

यसैगरी अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या बढेर एकहजार नाघेको छ। पछिल्लो विवरणअनुसार संक्रमितको संख्या पनि सबैभन्दा बढी वासिङ्टन राज्यमै भेटिएको छ। त्यहाँ २७० संक्रमित छन्। त्यसपछि क्यालिफोर्नियामा  १७५, न्युयोर्कमा १७३ र मासाचुसेट्समा ९२ जनालाई संक्रमण भएको पुष्टी भएको छ।

यसैबीच अमेरिकाको राजधानी वासिङ्टन डीसीसहित ३७ राज्यमा कोरोना भाइरस फैलिसकेको छ। तर, विशेषज्ञहरू भने यो सरकारी आंकडामा विशवास गर्दैनन् । उनीहरू भन्छन्,  प्रमाणित मात्र नभएको हो, अमेरिकाका सबै राज्य कोरोना भाइरस मुक्त छैनन्। 

अमेरिकामा १४ राज्यले आपतकाल घोषणा गरिसकेका छन्। यो घोषणाले ती राज्यलाई कोरोना भाइरस संक्रमणविरूद्ध लड्न विशेष अधिकार दिन्छ। 

प्रकाशित मिति: : 2020-03-11 22:43:41

प्रतिकृया दिनुहोस्