अमेरिकामा एक नेपाली युवाको दु:खद निधन भएको छ। निधन हुने मेरिल्याण्ड राज्यको बाल्टिमोरमा रहदै आएका सुनील केसी हुन्।
नेपालको बाग्लुङ नगरपालिका थातथलो रहेका ३१ बर्षीय केसी कोठमामा सुतेकै अवस्थामा मृत भेटिएको उनका नजिकका एक नातेदारले ब्रेक एन लिंकसलाई बताए।
उनका अनुसार केसी काम गर्ने स्टोरकै माथिल्लो तल्लामा बस्दै आएका थिए। दुई दिनदेखि काममा नआएका केसीलाई सहकर्मीहरूले खोजबिन गर्दा ढोका नखोलिएपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले ढोका खोल्दा उनी मृतअवस्थामा भेटिएका थिए।
उनको मृत्यु के कारणले भएको हो ?, त्यस बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।
उनको शव पोष्टमार्टम गरेर बाल्टिमोरको कोरोनरी हाउसमा राखिएको उनका नजिकका एक नातेदारले जानकारी दिए।
परिवारको चाहनाअनुसार उनको शव नेपाल पठाउने प्रवन्ध मिलाउन सहयोग संकलन सुरू गरिएको छ।
केसीले लामो कानूनी प्रक्रियापछि केही समय पहिले मात्रै अमेरिकामा कानुनी रूपमा बस्ने हैसियत बनाएका थिए। अहिले उनी त्यही हैसियतका आधारमा श्रीमती र छोरीलाई अमेरिका ल्याउने प्रक्रियामा रहेको उनका नजिकका नातेदार बताउँछन्।
तर, उनको त्यो सपना अब कहिलै विपना नहुने भएको छ।
केही साता पहिले मात्र भर्जिनियाको स्यानटिलीमा अर्का एक नेपाली सन्तोष केसीको दु:खद निधन भएको थियो ।